newskoseli.Com

देउवा–पौडेलबीच मञ्चमै किन चल्यो भनाभन ?

नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममै नेता पौडेलले ‘नयाँ सरकार गठनको अवसर खेर फालेको’ भन्दै देउवाविरूद्ध आक्रोश पोखेपछि सभापति देउवाले ‘मैले कहाँ, कस्तो अवसर खेर फालें’ भन्दै पौडेललाई प्रतिप्रश्न गरे ।

कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा शुक्रबार सहभागी भएका देउवाले नयाँ सरकार गठन गर्ने परिस्थिति नआए निर्वाचनमा पनि जान सकिने बताए । कार्यक्रममा देउवा पक्षका नेताले चुनावको पक्षमा बोले भने पौडेल तथा संस्थापनइतर पक्षका नेताहरूले नयाँ सरकार गठनमा जोड दिए ।

‘जोखाना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेको’ भन्दै वरिष्ठ नेता पौडेलले देउवाको आलोचना गरे । अब अर्को अवसर खेर फाल्नु नहुने आवश्यकता पौडेलले औंल्याए । पौडेलले बोलिसकेपछि कार्यक्रमको अन्तिममा बोलेका सभापति देउवाले पौडेलतर्फ संकेत गर्दै आफूले कुनै अवसर खेर नफालेको दावी गरे । ‘मैले केमा अवसर खेर फालें ?’ प्रश्न गर्दै देउवाले भने ।

यसअघि सभामा नै पौडेल र देउवाबीच सामान्य भनाभन समेत भएको थियो । त्यस क्रममा उपसभापति विमलेन्द्र निधिले देउवालाई साथ दिएको कार्यक्रममा सहभागी एक कर्मचारीले बताए । निधिले पनि सभापति देउवाकै शैलीमा ‘नयाँ सरकार गठनका लागि संसद्मा संख्या पुग्नुपरेन ?’ भनेर प्रश्न गरे । संसद्को अधिवेशन बोलाउन चाहिने एक चौथाइ संख्या पनि कांग्रेससँग नभएकाले नयाँ सरकार गठन कठिन भएको सभापति देउवाले बताए । अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुहोस् भने पनि सरकार गठनका लागि चाहिने संख्या नपुगेको उनले बताए ।

‘म आफू प्रधानमन्त्री हुन चाहेको पनि छैन; जोसुकै होस्, तयार पार्नुस् न मान्छे,’ पौडेलतर्फ लक्षित गर्दै सभापति देउवाले भने– ‘संख्या पुग्नुपर्‍यो नि । मचाहिँ संख्या नपुग्ने खेलमा छैन ।’आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकामा पार्टीलाई भने उनले धन्यवाद दिए । नयाँ सरकार बने राम्रै हुने बताएका देउवाले ‘चुनावबाहेक अर्को बाटो हुन नसक्ने भएकाले त्यसका लागि तयार रहनुपर्ने’ बताएको खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर