लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेइतरका राजनीतिक दलहरू अविश्वास प्रस्तावको कसरतमा जुटेका छन् । वर्तमान मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट बिदाई गर्नैपर्ने निष्कर्षसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव दर्ताका लागि अन्तिम टुंगोमा पुग्ने गरी कसरत थालेका हुन् ।
मुख्यमन्त्री पोखरेललाई सरकारको नेतृत्वबाट हटाउने अन्तिम निर्णयमा पुगिसकेका यी दलहरूले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर समेत संकलन गरिसकेका छन् । एमालेका ४१ र जनता समाजवादी पार्टीका एक जना सांसदबाहेक ४२ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर समेत गरिसकेको स्रोतले बताएको छ । उक्त हस्ताक्षर आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई बुझाइएको र यो हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी भएको स्रोतको दाबी छ ।
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हामीले हस्ताक्षर गरिसकेका छौँ’– कांग्रेसका एक सांसदले भने । स्रोतका अनुसार प्रदेशसभामा रहेका कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादी पार्टीका ५ र राष्ट्रिय जनमोर्चाका एक सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरिसकेका छन् । यो संख्या प्रदेशसभाका कूल सांसद संख्याको अल्पमत नै हो । मुख्यमन्त्रीविरुद्ध बहुमत जुटाउनका लागि थप एक सांसदको आवश्यकता पर्छ ।
तर, जसपाको महन्थ ठाकुर समूहका एक सांसदले भने मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेकी छैनन् ती सांसद हुन् कल्पना पाण्डे । मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर नगर्न उनलाई पार्टीको उपल्लो तहबाट आएको निर्देशनका कारण हस्ताक्षर गर्न सकस भएको जसपा स्रोत बताउँछ । जसपाका अरू ५ सांसदले भने हस्ताक्षर गरिसकेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।