newskoseli.Com

नयाँ पार्टी दर्ताको गृहकार्य सुरू, नाम र चिह्नबारे छलफल

विवाद चर्कंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्ग ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै खनाल–नेपाल पक्षमाथि ‘कारबाही’ को प्रक्रिया अघि बढाएपछि खनाल–नेपाल पक्ष छुट्टै दल गठनको गृहकार्यमा जुटेको हो ।

पार्टीलाई विधान र पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने खनाल–नेपाल पक्षको माग छ भने ओली समूहले विधि–पद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप लगाउँदै आएको छ । खनाल–नेपाल पक्ष आफैं पार्टी फुटाउने गृहकार्यमा जुटेको ओली पक्षको आरोप छ ।

स्रोतका अनुसार ओलीले खनाल–नेपाल पक्षका नेताहरुलाई ‘कारबाही’ गर्ने प्रक्रिया अघि बढाएपछि खनाल–नेपाल पक्षले भने नयाँ दल दर्ता गर्ने गृहकार्य अघि बढाएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ताका लागि नाम र चुनाव चिह्न के–के राख्ने भन्नेबारे आफू निकटका नेताहरुसँग छलफल सुरु गरेको स्रोतको दाबी छ ।

‘पार्टी प्रमुख खड्ग ओलीले खनाल–नेपाल पक्षका नेताहरुलाई छानी–छानी ‘कारबाही’ गर्न थालेपछि विकल्पको खोजी सुरु भएको हो । अब नयाँ दल दर्ता गरेर आगामी निर्वाचनमा सहभागी हुने गरी संगठन निर्माणमा जुटछौं,’ एमाले स्रोतले भन्यो– ‘यदि खड्ग ओलीले आफ्नो गतिविधिमा सुधार गर्नुभएन भने नयाँ दल दर्ता गराउँछौं ।’

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्ने र उपयुक्त चुनाव चिह्नको खोजी भइरहेको स्रोतले जनाएको छ । चुनाव चिह्न राख्ने विषयमा नेताहरुले विभिन्न सुझाव दिइरहेका छन् । नयाँ दल दर्ता भए पनि माओवादी केन्द्रसँग तत्काल पार्टी एकीकरण नहुने तर कार्यगत एकता गरेर अघि बढ्न सकिने सो समूहका नेताले बताएको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर