सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको कांग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बैठकमा सभापति देउवाले ‘नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको’ ब्रिफिङ गरे ।
देउवाको भनाइ उद्धत गर्दै कांग्रेसका एक नेताले भने– ‘अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ ।’ माओवादीले सरकारलाई दिँदै आएको समर्थन पनि अब छिटै फिर्ता लिने जानकारी देउवाले बैठकमा गराएका थिए । २० चैतमा बसेको केन्द्रीय समितिको बैठकबाट प्रधानमन्त्री खड्ग ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व आफैंले गर्ने विषयमा पहल गर्दै आएको छ ।
सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या पुग्ने सुनिश्चित भएलगत्तै संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने गरी कांग्रेस अगाडि बढेको छ । माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्रको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद तथा एमालेभित्रका माधवकुमार नेपाल पक्षका सांसदको साथ पाउने अवस्था सिर्जना भएकाले आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था बनेको निष्कर्ष कांग्रेसले निकालेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।