newskoseli.Com

‘बादल फाल्ने, सरकार ढाल्ने’ खेल सुरु : ओलीको अनौठो शैली !

आफू समस्यामा पर्ने जान्दाजान्दै पनि ‘जेसुकै होस्, चुनाव गराइहाल्ने’ अचम्मको हतारो प्रधानमन्त्रीमा पाइन्छ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य पद रिक्त गराएपछि जेठको दोस्रो साता हुनुपर्ने चुनावमा बागमती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले हार्ने सुनिश्चित नै देखिन्छ ।

०६४ मा चितवनबाट जितेका बादललाई ०७४ माघको राष्ट्रियसभा चुनावमा एमाले र माओवादी केन्द्र मिलेर बागमती (तत्कालीन ३ नम्बर) प्रदेशबाट राष्ट्रियसभामा जिताएका हुन् । उनलाई जिताउनका लागि खड्ग ओलीले माधवपक्षीय बेदुराम भुसाललाई उम्मेदवारी फिर्ता लिन लगाएका थिए । अहिले बागमती प्रदेशमा एमाले स्पष्टतः आधा–आधा छ ।

प्रदेशसभा सदस्य ११० (मतभार ५२८०), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिका मेयर–उपमेयर २३८ (मतभार ४२८४) सहित जम्मा ३४८ (मतभार ९५६४) ले बादललाई सर्लक्कै जिताउलान् भन्ने के ग्यारेन्टी ? माओवादीका बादलबाहेक सबै सर्लक्कै एकातिर छन् । त्यसमाथि कांग्रेससँग एमालेको खनाल–नेपाल पक्ष र माओवादीले चुनावी गठबन्धन गर्ने सम्भावना पनि बढेको छ । कर्णालीमा खुला मतदान हुँदा त फ्लोरक्रस हुन थालेको सन्दर्भमा अझ गोप्य मतदानमा त ‘पराई’ भइसकेका बादललाई कसले, के भनेर जिताउने ?

राष्ट्रियसभाको यो खिचलोमा छिर्नुअघि नै प्रधानमन्त्रीले माधव नेपालसहित उनको पक्षमा रहेका ३२ सांसदको पद रिक्त गराउने प्रक्रिया अघि बढाएका छन् । यसो गर्दा माओवादी र कांग्रेसले ल्याउन खोजेको अविश्वासको प्रस्ताव सजिलै पास हुँदैन र अर्कोखाले गठबन्धनबाट पनि नयाँ सरकार बन्दैन । र, यही बहानामा चुनावमा जान सकिने हिसाब बालुवाटारको देखिन्छ ।

बुझिएअनुसार, प्रतिनिधिसभाका रिक्त सिटहरूमा उपचुनाव गराएर ‘अर्ली इलेक्सन’ मा जान पनि तत्काल सम्भव हुँदैन । त्यसकारण अहिले निर्वाचन आयोगले राष्ट्रियसभा, प्रदेश र स्थानीय तहका हकमा मात्रै उपचुनाव गराउने नीति लिएको देखिन्छ । अनि, खनाल–नेपाल पक्षलाई चुनावसम्म ‘निर्दलीय’ बनाउनका लागि निर्वाचन आयोगबाटै पनि एमाले विवादलाई ‘आन्तरिक मामिला’ भनेर पन्छाउन लगाउने तयारी बुझिन्छ ।

जेहोस्, उसै त माओवादीसँग छुट्टिएपछि अल्पमतमा परेको सरकार, प्रतिनिधिसभाका २७ भाइ आफ्नै सांसदको पद खोस्नेतिर लाग्दा १२१ बाट ९४ मा झरेर झन् कमजोर हुने पक्का रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर