newskoseli.Com

झन् बढ्यो ओली–नेपालबीचको दूरी !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्–झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्ला दिनहरूमा अझ बढ्ता दूरी बढ्दै गएको छ ।

सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलापश्चात पूर्ववत् अवस्थामा फर्किएको एमालेभित्र एकपछि अर्को विवाद बढ्दै जाँदा पार्टी गम्भीर समस्यामा फस्दै गइरहेको छ । ‘संस्थापन’ पक्षले बैठक बसेर विभिन्न निर्णय गरेपछि त्यसमा नेपाल समूहले आपत्ति जनाउँदै आएको छ । खनाल–नेपाल पक्ष २ जेठ, २०७५ कै अवस्थाबाट पार्टी सञ्चालन गर्नुपर्ने अडानमा छ ।

ओली–नेपालबीचका आ–आफ्नै अडानले पार्टी दुई समूहमा विभाजित देखिएको छ । एमाले स्रोतले जनाएअनुसार दुवै नेताबीच कुनै सहमति नभए पार्टी आधिकारिक रूपमा दुईवटा बन्ने पक्का भएको छ । ओली सहमति गर्दै नगर्ने र नेपाल झुक्दै नझुक्ने अडानले अन्ततः एमाले फुट्ने निश्चित नै भएको स्रोतको दाबी छ ।

‘एकले अर्काको अस्तित्व स्वीकार्नै नसक्ने रोग नेताहरूमा देखिएको छ, जसले एकपछि अर्को समस्या थपेको छ’– एमालेका एक नेताले भने । दुई ध्रुवमा विभाजित नेताहरूबीच दुई पटक भेटघाट भयो । ओली र नेपालबीच भएको भेटघाटले पार्टीभित्रको विवाद समाधान हुने आशा आम नेता–कार्यकर्ताको थियो । तर, दुवै नेता आ–आफ्नै अडानबाट टसमस नभएकाले पार्टी फुट्ने चिन्ता उनीहरूमा बढ्दै गएको छ ।

झन्डै पाँच महिनादेखिको छलफलविहीन स्थिति तोड्दै ओली र नेपालबीच छलफल भएको थियो । नागपोखरिस्थित होटल मेरियटमा ओली र नेपाल संवादमा जुटेसँगै सिंगो देशकै राजनीतिक माहोल एकाएक तातेको थियो । पछिल्लो समय पानी बाराबारको अवस्थामा पुगेका दुई नेता एक्कासि संवादमा जुट्दा एमाले पंक्ति उत्साहित देखिए पनि त्यो धेरै समय टिक्न नसकेको खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर