newskoseli.Com

८२ घन्टासम्म पुरिए, आफ्नै पिसाब पिएर बाँचे : भूकम्पकाे त्रासदी !

भूमिकास्थान नगरपालिका– १, साम्ने गाउँका ३१ वर्षीय ऋषि खनाल २०७२ वैशाख १४ मा वैदेशिक रोजगारीका लागि यूएईको दुबईतिर उड्नु थियो । हवाई टिकट समेत भइसकेको अवस्थामा खनाल काठमाडौंसम्म पुगेका थिए ।

तर, १२ वैशाखको विनाशकारी भूकम्पले विदेश गएर धन कमाउने उनको सपना चकनाचूर पारिदियो । त्यति मात्रै होइन, झन्डै ८२ घन्टापछि खनालको जीवितै उद्धार गरियो । ‘भाग्य’ ले बाँचे !

राजधानीको गोंगबुस्थित साततले गेस्टहाउसको पहिलो र दोस्रो तला भूकम्पले भत्किएको थियो । तर, माथिल्लो चार तला भने कायमै थियो । त्यही भत्किएको तलाबाट सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्धार टोलीले १० घन्टाको अथक प्रयासपछि खनालको उद्धार गरेको हो ।

बाँच्नका लागि पिसाब समेत खाएको आफ्नो उद्धारपछि खनालले बताएका थिए । आफू फसेको ठाउँबाट ढुंगाका स–साना टुक्रा बाहिर फालेर उनले उद्धार टोलीको ध्यान आफूतर्फ खिँचेका थिए । उनको देब्रे खुट्टा काटिएको छ । उपचार खर्च सरकारले बेहोर्यो । तर, काठमाडौं आउजाउ र औषधि खर्च गर्दा अढाइ लाखभन्दा बढी रकम सकियो ।

‘भूकम्पमा परेर अंगभंग भएको म र मजस्ता साथीहरूले सिप सिकेर जीविकोपार्जन गर्न चाहेका छौं’– उनी भन्छन् । काठमाडौंमा विभिन्न संघ–संस्थाले निःशुल्क सिपमूलक तालिम दिन्छौं भनेका थिए तर, कसैले पनि सम्पर्कै गरेनन् ।

निःशुल्क नै तालिम पाए पनि काठमाडौंमा भाडा तिरेर बस्ने, बिहान–बेलुका खाने स्रोत समेत जुटाउन नसकेर सिपमूलक तालिम लिन नसकेको खनाल सुनाउँछन् । खाने–बस्ने व्यवस्था गरिदिए भूकम्पमा परेर हात–खुट्टा गुमाएका आफूजस्ता साथीहरूले सिप सिकेर केही काम गरी खान सक्ने उनको भनाइ रहेको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर