।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई ‘कारबाही’ गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार एमालेको १०औं ‘महाधिवेशन आयोजक कमिटी’ का नाममा बसेको ओली समूहको बैठकले ‘सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने’ जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खड्ग ओली र स्थायी कमिटीलाई दिएको छ ।
ओली समूह स्रोतका अनुसार बैठकमा केन्द्रीय सदस्यहरूको हस्ताक्षर समेत संकलन गरिएको छ । यसअघि वरिष्ठ एमाले नेता माधवकुमार नेपाल निकटका सांसदहरूलाई ‘स्पष्टीकरण’ सोधिएको थियो । सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको खण्डमा ती सांसदले ‘फ्लोर क्रस’ गर्ने अनुमानसहित ओली समूहले केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गर्दै ‘कारबाहीको जिम्मेवारी’ स्थायी कमिटीलाई दिएको हो ।
‘कारबाही’ गरिने सांसदको नाम र सूची टुंग्याउने जिम्मा प्रधानमन्त्री ओली र स्थायी कमिटी सदस्यलाई दिने निर्णय गरिएको छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने र पार्टीभित्रबाटै ‘फ्लोर क्रस’ हुन सक्नेबारे ‘सूक्ष्म अध्ययन’ गर्दै ओली समूहले यस्तो निर्णय गरेको खबर सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।