एमालेको ओली समूहतिर लागेका रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन भन्दै माओवादी केन्द्रले निर्वाचन आयोगलाई पत्राचार समेत गरेको छ ।
पार्टीको प्रदेश समितिका सदस्य रहेका नगर प्रमुखहरु मौलापुरकी रिनाकुमारी साह र कटहरियाका सियाराम कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको माओवादीले जनाएको छ । उपप्रमुखहरुमा मौलापुर नगरपालिकाका गौरीशंकरप्रसाद जयसवाल, फतुवाविजयपुरकी कान्तिदेवी महतो, देवाही गोनाहीकी परनियादेवी पटेल, माधवनारायणकी सिमलकुमारी साह र यमुनामाइ गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्कासित गरिएको माओवादी केन्द्रका रौतहट जिल्ला सचिव देवेन्द्र पटेलले बताए ।
स्थानीय तहको निर्वाचनमा माओवादीबाट विजयी उनीहरु एमालेको राजनीतिक गतिविधिमा संलग्न रहेकाले पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार कारबाही गरिएको पटेलको भनाइ छ । ‘पार्टीको विधानविपरीत काम गरेकाले उहाँहरुसित स्पष्टीकरण सोध्ने काम भयो,’ उनले भने– ‘चित्तबुझ्दो जवाफ नआएपछि पार्टीले निष्कासन गरेको हो ।’
२०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेको भन्दै पार्टी केन्द्रीय समितिको बैठकले दुई मेयर र पाँच उपमेयरलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । सर्वोच्च अदालतको २०७७ फागुन २३ को निर्णयले पूर्ववत रुपमा कायम भएको नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधिहरु पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाले कारबाही गरिएको पत्रमा उल्लेख गरिएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।