सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलग–अलग भेट गरे ।
यसअघि राष्ट्रपति भण्डारीले पटक–पटक बोलाउँदा पनि नगएका वरिष्ठ नेता नेपाल बिहीबार साँझ त्यहाँ गए । भेटमा पार्टीभित्रको विवादका बारेमा कुराकानी भएको स्रोतले बतायो । नेता नेपालले पार्टीको विवाद मिलाउन ओलीले गरेका निर्णय सच्याउनुपर्ने बताएका थिए । विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर फर्कने क्रममा नेपाल शीतलनिवास पसेका थिए ।
नेता नेपाल शीतलनिवासबाट बाहिरिएलगत्तै ओली त्यहाँ पुगेका थिए । स्थायी कमिटीको बैठक सकिएपछि दिउँसो शीतलनिवास गएका ओली साँझ पनि राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । प्रधानमन्त्री ओली मन्त्रिपरिषदको बैठक सकेर साँझ राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका हुन् । साँझको भेटमा एमालेभित्रको विवादबारे कुराकानी भएको राष्ट्रपति निकट स्रोतको दाबी रहेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।