सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ओली समूहले प्रधानमन्त्री खड्ग ओलीलाई विश्वासको मत प्राप्त हुने गरी राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधूप गरिरहेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको ओली समूहको स्थायी कमिटीको बैठकले राजनीतिक दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटाउने निर्णय गरेको हो । राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय भएको परराष्ट्र मन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसदबाट २७ वैशाखमा विश्वासको मत लिने प्रयास गर्दैछन् । नेकपा (माओवादी केन्द्र) को समर्थनमा बनेको ओली सरकार माओवादीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको छ । स्थायी कमिटीको बैठकले विश्वासको मतका लागि दलहरूसँगको छलफल अझै सघन रूपमा अघि बढाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताएको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।