newskoseli.Com

उपेन्द्रका ५ सांसद ‘सत्ताको लोभले’ ठाकुरतिर (नामावलीसहित)

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष खड्ग ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी हुने निश्चित भएपछि बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता ठाकुर–महतो पक्षमा लागेका छन् । ५ सांसद ठाकुर पक्षमा पुगेपछि उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै सोमबार हस्ताक्षर गरेका थिए ।

‘सरकारमा जाने लोभ’ नै पाँच सांसदले कित्ता परिवर्तन गर्नुको प्रमुख कारण भएको देखिएको छ । यसरी कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदहरू उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मारेणुका गुरुङ हुन् । ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि नै उनीहरूले कित्ता परिवर्तन गरेको स्रोतको भनाइ छ ।

ठाकुर–महतो पक्षले वैशाखमा भक्तपुरको डोेलेश्वरमा गरेको बैठकमा जसपाका २० सांसद उपस्थित भएको दाबी गरिएको थियो । त्यस बैठकमा उपेन्द्र यादव पक्षका कुन–कुन सांसद सहभागी थिए भन्ने खुलेको थिएन । स्रोत भन्छ– ‘डोलेश्वर बैठकमा यादव पक्षका श्रीवास्तव र अरगरिया खुलेर आएका थिए, अरू ३ सांसदले भने आउने आश्वासन दिएका थिए तर नाम खुलाउन चाहेका थिएनन्; अहिले भने उनीहरूले खुलेरै कित्ता परिवर्तन गरेका छन् ।’

यादव पक्षका ५ सांसदले कित्ता परिवर्तन गरेपछि महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णयमा २० सांसदको हस्ताक्षर रहेको स्रोतको भनाइ छ । संसदीय दलमा ठाकुर–महतो पक्ष बहुमतमा रहे पनि कार्यकारिणी समितिमा भने आफूहरू बहुमतमा रहेको यादव पक्षका नेताहरूको दाबी छ । जेठ ८ र ९ को कार्यकारिणी समितिको बैठकमा अत्यधिक बहुमत सदस्य उपस्थित रहेको यादव पक्षको दावी छ ।

यसैबीच, ठाकुर–महतो पक्षले सरकारमा जाने निर्णय गरेको छ । जसपा स्रोतका अनुसार सरकारमा सहभागी हुन ठाकुर र महतोले कामचलाउ प्रधानमन्त्री खड्ग ओलीलाई जानकारी समेत गराइसकेका छन् । ‘जसपाले राखेका माग पूरा गरेको’ भन्दै उनीहरू सरकारमा जान लागेका हुन् । सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने तथा संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

जसपाले सरकारसँग ५ वटा माग राखेको थियो, सरकारले पूरा गर्न बाँकी अब २ माग मात्र छन्– रेशम चौधरीको रिहाइ र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने । यी माग पनि तत्काल पूरा गर्ने आश्वासन ओलीले दिएको जसपाका नेताहरूले जनाएका छन् ।

आफूहरू सरकारमा जाने सम्भावना बढेको ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले बताए । ‘हाम्रा माग र मुद्दा सम्बोधन भएमा सरकारमा जान्छौं भन्दै आएका छौं, माग र मुद्दा सम्बोधन हुने क्रममा छन्।’ भण्डारीले भने– ‘त्यसैले सरकारमा जाने सम्भावना बढेको छ ।’ विभाजोन्मूख जसपाको विवाद र आन्तरिक समीकरणसम्बन्धी यो खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर