तत्कालीन एमाले–माओवादी केन्द्र एकता भई नेकपा बनेदेखि नै प्रधानमन्त्री खड्ग ओलीलाई साथ दिँदै आएका पूर्वमाओवादी नेता प्रभु साह र प्रधानमन्त्रीबीचको सम्बन्ध अहिले भने निकै चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीका ‘प्रियपात्र’ रहेका प्रभु आज एकाएक किन ‘अप्रिय’ भए त ? आखिर के भयो त्यस्तो, जसले मधेशका सशक्त नेतामध्येका एक प्रभु साह र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा दरार आयो ?
सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गरी एमाले र माओवादी केन्द्र ब्युत्याएदिएपछि ‘अब कसरी अगाड़ि बढ़ने’ भन्ने विषयमा मतभेद बढ़न थालेको देख़िन्छ । स्रोतका अनुसार प्रभु साहले नेकपाकै राजनीतिक–वैचारिक कार्यदिशाको निरन्तरता हुनुपर्ने अर्थात ‘जनताको बहुदलीय जनवाद’ नभई ‘जनताको जनवाद’ सहितको राजनीतिक–वैचारिक कार्यदिशा हुनुपर्ने, एकताकै भाव झल्कने गरी पार्टीको नयाँ नामकरण हुनुपर्ने, पार्टीको सांगठनिक गतिविधि पनि एकताकै भावअनुरूप हुनुपर्ने अर्थात् पार्टीको आगामी महाधिवेशन पनि एकताकै महाधिवेशन गर्नुपर्नेजस्ता माग राख़्दै आएका थिए ।
तर, प्रभुले उठाएका विषयलाई अध्यक्ष ओलीले भने पटक्कै मन पराएनन् । यी मागहरुका विषयमा ओली र प्रभुबीच पटक–पटक वार्ता भए । कतिपय वार्तामा रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझीसहितका अरू पूर्वमाओवादी नेताहरु पनि सहभागी थिए । तर, प्रभुले उठाएका विषयमा कुनै प्रगति हुन सकेन ।
आफ्ना मागको ठोस सम्बोधन नहुँदासम्म अगाडि बढ्न नसक्ने प्रभु साहको अडान थियो । प्रधानमन्त्रीलगायतका एमाले नेताहरुले पटक–पटक प्रभुलाई फकाउने प्रयास गरे तापनि साह भने टसमस भएनन् । प्रधानमन्त्री स्रोतले भन्यो– ‘एमाले ब्युँतिएयता प्रभु साहले हालसम्म पनि पार्टीको निर्णय पुस्तिका (माइन्युट) मा एक पटकसम्म पनि हस्ताक्षर गर्न नमानेपछि प्रधानमन्त्री ओली झन क्रुद्ध हुनुभयो ।’
तत्कालीन नेकपाभित्रका ‘लोभीपापी’ हरू संकेन्द्रित ओली समूहभित्र विष्फोटको संघारमा पुगेको अर्को प्रसंगसम्बन्धी यो खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।