newskoseli.Com

त्यसपछि भीम रावललाई रातारात बोलाइयो बालुवाटार…

आइतबार राति बालुवाटारमा बोलाइएका ‘पुनर्बहालीप्राप्त उपाध्यक्ष’ भीम रावलले सुरुमा माधव नेपाललाई फोनमै खबर सुनाए । र, ‘अनुमति’ लिएरै बालुवाटार पुगे । यो घटनासँग प्रधानमन्त्रीको मनमा सवार त्रासले मुख्य भूमिका खेलेको बताइन्छ । किनभने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर फिर्ता लिने ‘अल्टिमेटम’ भोलिपल्ट अर्थात् सोमबार साँझ ५ बजे सकिँदै थियो । तर, हस्ताक्षर फिर्ताको चालचुल केही भएन ।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा शेरबहादुरपक्षीय रिटमाथिको सुनुवाई सकिँदै थियो, सकियो पनि । र, मंगलबार फैसला आउने ‘पक्कापक्की’ छ भन्ने प्रधानमन्त्रीको बुझाइ थियो । त्यसैले आइतबार बिहान विष्णु पौडेलसहित वार्ता टोलीका सदस्यलाई कोटेश्वरस्थित माधव नेपाल निवासमा पठाइयो । जब विष्णु पौडेलले ‘हामी ८ बजे आउँदैछौं’ भनेर बिहान ७ बजे फोन गरे, तब माधवले सीधै ‘आउनुस्’ भनेनन्, बरु ‘घनश्यामजीहरु पनि आउनुहुन्छ’ भने । अर्थात्, ओलीका मान्छे कोटेश्वर पुग्ने, आफूहरुले मात्रै भेटेर बाहिर अर्को भ्रम सिर्जना गरिदिने खतराप्रति माधव सचेत थिए । त्यसैले दुवै समूहका वार्ताकारलाई सँगै आउन भने । तर, त्यहाँ सबभन्दा पहिले त घनश्याम भुसाल नै पुगे ।

अदालतलाई प्रभाव पार्नकै निम्ति बालुवाटारबाट पठाइएको प्रस्ताव थियो– ‘हस्ताक्षर फिर्ता गर्ने कुरामा तपाईंहरु तयार नभए पनि केही फरक पर्दैन तर पार्टी एकताका निम्ति हामी प्रतिवद्ध छौं भनेर तपाईं र केपी कमरेडको एउटा संयुक्त विज्ञप्ति आउनुपर्‍यो ।’ विष्णु पौडेलबाट यस्तो प्रस्ताव आएपछि माधवले घनश्यामको मुखतिर हेरे ।

‘एकता नै भन्ने विषयमा त हाम्रो असहमति होइन नि ! तर, विज्ञप्ति दिएर मात्रै एकता हुँदैन । एकता हुनका लागि राखिएको हस्ताक्षर फिर्ताको सर्तमा हामी नजाने कुरा स्पष्टै छ । त्यो कुरा पनि थाती राखेर वक्तव्य दिने भन्नुभएको हो भने त दिने नि, किन नदिने ?’ अनि, माधवले कुरा फुकाए– ‘तपाईंहरु ६ जनै बसेर विज्ञप्तिको ड्राफ्ट गर्नुस्, म हस्ताक्षर गरिदिन्छु ।’

त्यहाँबाट उठेर केपीपक्षीय टोली बालुवाटार पुग्यो । माधवका कुरा केपीलाई सुनाइयो तर बालुवाटारमा माधवलाई हस्ताक्षर गराउने भनिएको विज्ञप्ति पहिल्यै तयार पारिएको रहेछ । स्रोतका अनुसार, केपीकै खल्तीमा रहेको उक्त ड्राफ्टमा ‘पार्टी एकताको मूल्यमा विगतमा हामीबाट भएका सम्पूर्ण कमी–कमजोरी सच्याइने छ’ भन्ने प्रकारको भाषा थियो ।

केपीपक्षीय वार्ता टोलीका एक सदस्यले भने– ‘माधव कमरेडले त यो ड्राफ्ट ६ जनै बसेर बनेको हुनुपर्छ भन्नुभएको छ । यही ड्राफ्ट लगेर छलफल गरियो भने कुरा मिल्नेजस्तो देखिँदैन ।’ यसपछि केपीले ‘मिल्दैन भने मिल्दैन त, के गर्नु !’ भन्दै विरक्तिभाव दर्शाए । अर्थात्, ‘कमी–कमजोरी सच्याइने’ नाममा उही हस्ताक्षर फिर्ताको अडानलाई माधव नेपालले मानिदिनुपर्ने अडान त्यहाँ थियो । यसर्थ, त्यो विज्ञप्ति जारी भएन ।

यसपछि नै हो, भीम रावललाई राति बोलाएर ‘कार्यदल ब्युँताउने’ सल्लाह भएको । भोलिपल्ट सोमबार पनि ‘५ बजेतिर सिंहदरबारमा बसौंला’ भनेर कार्यदलका ओलीपक्षीय सदस्यहरुले भीम रावललाई खबर पठाए, त्यसमा पनि कारण रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर