newskoseli.Com

ओली–नेपालका आ–आफ्नै ‘रणनीति’ : एमाले ‘एकता’ मा अवरोध !

एमाले अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी ‘एकता जोगाउन’ अवरोध र ढिलाइ भइरहेको छ ।

यद्यपि, दुवै नेताका तर्फबाट गठित कार्यदल भने पार्टी एकताका लागि ‘सहमतिनजिक’ पुगेको छ । शुक्रबार बसेको कार्यदल बैठकले धेरै विषयमा सहमति जुटाएको कार्यदलका सदस्यले बताएका छन् । कार्यदलले जुटाएको सहमतिलाई अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले अन्तिम रूप दिनुपर्ने भएकाले कार्यदलले खोजेको सहमति नै अन्तिम नहुने अवस्था देखिएको छ ।

यसैकारण कार्यदलले शुक्रबार सहमति भएको बताए तापनि एमाले नेता–कार्यकर्ताहरू विश्वस्त हुन सकेका छैनन् । कार्यदल आफैंले पनि सहमति भएका विषय सार्वजनिक गर्न भने सकेन । एमालेमा देखिएका सबै विवादमा समाधान खोजिएको कार्यदल सदस्य तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

‘लगभग सहमति भइसकेको छ, शनिबार एकताको घोषणा गर्नेछौं’– प्रवक्ता ज्ञवालीले भने । कार्यदल सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले पनि एकाधबाहेक सबै विषयमा सहमति भइसकेकाले शनिबार एकताको घोषणा हुने बताए । अध्यक्ष ओली र वरिष्ठ नेपाल सहमत भएपछि मात्रै कार्यदलले गरेको सहमति एकता सन्देशका रूपमा सार्वजनिक गर्ने तयारी कार्यदलका सदस्यहरूले गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने सहमति गर्दा आफू नेतृत्वको सरकारको निरन्तरतामा नेपाल पक्षले सहमति जनाउनुपर्ने अडानमा छन् । प्रतिनिधिसभा ‘विघटन’ गरेपछि पुनर्स्थापनाको मागसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान ओलीले राख्दै आएका थिए ।

तर, नेपाल पक्षका सांसदले हस्ताक्षर फिर्ता लिन नमानेपछि सर्वोच्चको फैसला जस्तोसुकै आए पनि त्यसलाई स्वीकार गर्दै आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउनुपर्ने प्रतिबद्धता नेपालबाट ओलीले खोजेको एमाले स्रोतको दाबी रहेको खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर