एमालेभित्रको आन्तरिक विवाद कायमै रहेका बेला अध्यक्ष ओली समूहले एकलौटी ढंगबाट स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक तय गरेको छ । ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
केन्द्रीय कमिटीको एजेन्डा तय गर्न भन्दै आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको हो । स्थायी कमिटीको शुक्रबार बसेको बैठकले विवाद निरूपणसम्बन्धी कार्यदलले प्रस्ताव गरेका सहमतिका बुँदालाई अनुमोदन गर्नुका साथै कार्यदल खारेज गरेको छ ।
सो बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ । ओली पक्षले फेरि आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटीको बैठक राखेर नेपाल पक्षलाई अप्ठ्यारोमा पार्न खोजेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले भने सबै बैठक रोकेर ओली र नेपालबीच संवाद गराउन चाहिरहेका छन् । तर, ओली र नेपाल दुवै नेता संवाद नगरी ‘अघि बढ्ने’ मुडमा देखिएका छन् ।
‘हामीले दुवै नेताहरूबीच संवाद गरेपछि मात्र पार्टीको बैठक राख्न अनुरोध गरेका थियौं तर अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक बोलाउनुभयो । फेरि आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । संसदीय दल र स्थायी कमिटीको बैठकबाट देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गराउनुभयो । यी गतिविधि हेर्दा अध्यक्ष ओलीले नेता नेपालको साथ नचाहेको देखियो’– कार्यदलमा रहेका एक सदस्यले भने ।
कार्यदलका सदस्यहरूले १० बुँदे सहमतिमा हस्ताक्षर गरेपछि वरिष्ठ नेता नेपालले पाँचदलीय गठबन्धनमा नरहने घोषणा गरेकै बेला ओलीले भने ‘एमालेमा माधव नेपालको कुनै पनि स्थान नभएको’ अभिव्यक्ति दिए । एमालेभित्र ‘सप्रिन लागेको वातावरण’ ओलीको त्यही अहंकारले बिग्रियो । त्यसपछि नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य विजय डा. पौडेललाई गठबन्धनको बैठकमा पठाएर आफूहरु गठबन्धनमै रहेको सन्देश दिएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।