newskoseli.Com

सल्यानमा ज्वरो र पखालाका भाइरल

अविरल वर्षा भएसँगै सल्यानमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

भाइरल ज्वरो र पखालासँगै टाउको दुख्ने, रुघाखोकी लाग्नेलगायत समस्याबाट बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेपछि जिल्लामा रहेका स्वास्थ्य संस्थामा भीड लाग्न थालेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. मनिषा रावलले जानकारी दिए ।

“सामान्य अवस्थामा ३० देखि ४० जनासम्म बिरामी आउने गर्थे, अहिले दिनहुँ ८० देखि १०० जनासम्म बिरामी जाँचका लागि आउँछन्”, प्रमुख डा. रावलले बताए ।

बिरामीको सङ्ख्या बढेपछि जिल्ला अस्पतालमा उपचारमा समस्या भएको रावलको भनाइ छ । “अस्पतालको क्षमता १५ शय्याको मात्र छ तर बिरामी बढेकाले थप ३२ शय्या थप गरेर उपचारको व्यवस्था मिलाएका छौँ”, रावलले भने । अस्पतालमा आउने बिरामीमध्ये ४० प्रतिशत भाइरल ज्वरो र पखालाका बिरामी आउने गरेको जिल्ला अस्पताल सल्यानका डा. नजिर खानले बताए ।

उनले भने, “एउटालाई घर पठाए पनि अर्को आउने गरेकाले शय्या खाली हुन नपाउँदै अर्को थपिने हुँदा कुरुवा बस्ने ठाउँमा समेत श्यया राखेर बिरामीको उपचार गर्दै आएका छौँ ।”

भाइरल ज्वरो र पखालाबाट धेरैले दुःख पाएपनि मानवीय क्षति भने नभएको डा. खानको भनाइ छ । यसले रोगसँग लड्नसक्ने शक्ति कम गर्ने भएकाले पानी तथा झोलिलो पदार्थ बढी खानुपर्ने उनको सल्लाह छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर