newskoseli.Com

सिरियामा युद्धविराम सुरु

सिरियामा सोमबार सूर्यास्तपछि हुने भनिएको युद्धविराम सुरु भएको छ । युद्धविराम होला कि नहोला भन्ने आशङ्काबीच सोमाबार सूर्यास्तपछि सो कार्यान्वयनमा आएको बताइएको छ ।

रुस र अमेरिकाले संयुक्त पहलमा भएको यो युद्धविराम सम्झौतामा सोमबार सूर्यास्तपछि हतियार नउठाउनमा सबै विद्रोही समूह सहमत भएका थिए, भने सिरियाली सरकारी पक्षले पनि सकारात्मक मौखिक सहमति दिएको थियो ।

वासिङ्गटनस्थित अमेरिकी विदेश मन्त्रालयमा अमेरिकी विदेश जोन केरीले प्रारम्भिक समाचारअनुसार युद्धविरामपछि हिंसामा केही कमी आएको जानकारी दिएकाे छ । तर युद्धविराम कुन हदसम्म प्रभावकारी रह्यो भन्ने विषयमा अहिले नै केही प्रतिक्रिया दिनु साहै्र नै छिटो हुने केरीले बताए ।

गतः शुक्रबार रसिया र अमेरिकाको अगुवाइमा युद्धविराम लागू गर्ने भन्ने सम्झौतामा हस्ताक्षर भएपछि पनि अलेप्पो र इद्लिब सहरहरुमा गत शनिबार भएको हवाई आक्रमणमा करिब एक सयको सङ्ख्यामा सर्वसाधारणले ज्यान गुमाएका थिए । सिरियालाई जोगाउने यो अन्तिम अवसर भएको यसलाई सघाउन सिरियाका विद्रोही र सरकारी पक्ष केरीले आह्वानसमेत गरेका छन् ।

युद्धविराम सम्झौतामा मध्यस्थताको भूमिकामा रहनु भएका केरीले सिरियामा शान्ति ल्याउन यो अन्तिम अवसर हुन सक्ने पनि बताए । आगामी दिनहरुमा युद्धविरामको उल्लङ्घन हुन सक्ने विषयलाई मध्यनजर राख्दै सबै पक्षलाई सम्झौताको शर्तमा रहनसमेत उनले अाग्रह गरेका छन् ।

विद्रोहीको नियन्त्रणमा रहेको अलेप्पो सहरका एक बासिन्दाले दिनभरी चलेको गोलाबारी साँझ रोकिएको बताएको समाचारमा उल्लेख छ । अलेप्पो सहरको आकाशमा हवाई आक्रमण लागि उड्ने गरेका विमानहरु पनि नदेखेको उनले बताएका छन् ।  सिरियाली राष्ट्रपति बसर अल असदले पनि युद्धविरामलाई सफल बनाउने वाचा गरेका रसियाले जानकारी दिएको छ ।

सिरियाको प्रायःजस्तो स्थानहरुका युद्धविराम लागू भएको मानव अधिकारकर्मी समूहहरुले पनि जानकारी दिएका छन्. ।  गत हप्ता जेनेभामा अमेरिकी विदेशमन्त्री जोन केरी र रसियाली विदेशमन्त्री सर्गेई लाभरोभबीच सिरियाली युद्धविरामसम्बन्धी पछिल्लो सम्झौतामा सम्पन्न भएको थियो ।

राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सन् २०११ देखि सुरु भएको जनआन्दोलन सिरियामा केहीपछि गएर गृहयुद्धमा परिवर्तन भएको र यस गृहयुद्ध अद्यापि चालु भइरहेको छ ।  यस द्वन्द्वका कारण सन् २०११ देखि हालसम्म दुई लाख ९० हजार भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको छ ।

लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँ व्यक्ति देशभित्र र बाहिर शरणार्थी बनी कष्टपूर्ण जीवन बिताइरहेका छन् । रासस/एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर