newskoseli.Com

लुटेरा समूहको आक्रमण : ३ जना राष्ट्रसङ्घीय सैनिक मारिए

लुटेरा समूहको आक्रमणमा मालीमा तैनाथ ३ जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिएका छन् । छुट्टी मनाउन राजधानी बामाकोबाट छिमेकी मुलुक गिनीतर्फ जाँदै गर्दा बाटोमा ती शान्ति सैनिकको हत्या भएको हो ।

मालीको सुरक्षा स्रोतका अनुसार लुटपाटका क्रममा शान्ति सैनिकमाथि घातक आक्रमण भएको हो । मारिएका सबै गिनीका सैनिक रहेका छन् । मालीमा तैनाथ राष्ट्रसङ्घीय मिसन (मिनुस्मा) मा गिनीका झन्डै ९ सय सैनिक कार्यरत छन् ।

मिनुस्मामा गिनी समेत विभिन्न देशका करिव १५ हजार सैनिक रहेका छन् । राजधानी बामाकोबाट करिव ४४ किलोमिटर दक्षिणपश्चिमको शिबी भन्ने स्थानमा शुक्रबार बिहान अपरिचित सशस्त्र समूहले लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेको मिनुस्माले जारी गरेको वक्तव्यमा जनाइएको छ । आक्रमणमा एक सैनिक घाइते भएका छन् ।

राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेर्रेसले वक्तव्य जारी गरी आक्रमणको निन्दा एवं भर्त्सना गरेका छन् । राष्ट्रसङ्घीय सुरक्षा परिषदले समेत आक्रमणको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेको छ ।

इस्लामिक अतिवादीहरुले सन् २०१२ मा उत्तरी मालीमा कब्जा जमाएपछि राष्ट्रसङ्घले शान्ति सैनिक पठाएको छ । सन् २०१५ मा बामाको सरकार र सशस्त्र विद्रोहीबीच शान्ति सम्झौता भइसकेको छ । तर, इस्लामिक विद्रोहीले हत्या–हिंसाका घटना नरोकेका कारण उक्त सम्झौताको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।

सन् २०१३ मा राष्ट्रसङ्घीय शान्ति सैनिक परिचालन भएयता मालीमा १ सय ९० जनाभन्दा बढी सैनिकको मृत्यु भइसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर