newskoseli.Com

थप गहिरिँदै भेनेजुयला संकट : सरकारद्वारा युरोपेली सांसदहरुलाई देशनिकाला !

भेनेजुयला सरकारले भेनेजुयला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देशनिकाला गरेको छ । सरकारको उक्त कदम ‘अविवेकी’ भएको विपक्षी नेता हुँवा गुएइदोले बताएका छन् ।

युरोपेली संसदका सदस्यहरूलाई देशनिकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुयला सरकारले नखुलाएको टोलीनेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले बताए । सांसद पोन्सले भने– ‘हामीलाई भेनेजुयला छाड्न भनिएको छ, हाम्रो पासपोर्ट खोसिएको छ, देशनिकाला गर्नुपर्ने कारणबारे सरकारले हामीलाई केही बताएको छैन ।’

पछिल्लो घटनाले राष्ट्रपति निकोलास मदुरो र अन्तर्राष्ट्रिय समुदायबीचको तनाब अझ बढाएको छ । राष्ट्रियसभाका अध्यक्ष समेत रहेका विपक्षी नेता हुँवा गुएइदोले गत महिना आफू नै मुलुकको अन्तरिम राष्ट्रपति भएको दावी गरेयता त्यहाँको शक्तिसङ्घर्ष चरम अवस्थामा पुगेको छ । गुएइदोलाई ५० भन्दा बढी देशले समर्थन गरेका छन्, तीमध्ये युरोपका मात्रै ३० वटा देश छन् ।

देश छाड्न आदेश दिइएका अरु सांसदहरुमा जोजे इग्नासियो सालाफ्रान्का, ग्याब्रिएल माटो आद्रोभर, एस्थर डी लान्गे र पाउलो रान्जेल रहेका छन् । उनीहरु सबै युरोपेली पिपल्स पार्टीका सदस्य हुन् । गुएइदोले भने सांसदहरुलाई देशनिकाला गरिएको प्रति आपत्ति जनाउँदै विश्वसमुदायबाट एक्लिँदै गएको मदुरो सरकारको पछिल्लो कदम अविवेकी भएको दावी गरेका छन् ।

विपक्षी नेता गुएइदोले भेनेजुयलाका निम्ति मित्रराष्ट्रले पठाएको आपतकालीन मानवीय राहत सामग्री देशभित्र ल्याउन आम नागरिकसमक्ष अपिल गरेका छन् । भेनेजुयलासँग सीमा जोडिएको कोलम्बियाको कुकुटामा खाद्यान्न र सरसरफाईका सामान तथा पोषणयुक्त खाद्य आइपुगेको छ । तर, त्यसलाई भेनेजुयला प्रवेश गर्न सरकारले अनुमति दिएको छैन । ब्राजिल र भेनेजुयलासँगै सीमा जोडिएको कुराकाओमा पनि सामग्री भण्डारहरु स्थापना गर्ने तयारी थालिएको छ ।

‘हाम्रो मुख्य लक्ष्य नै फेब्रुअरी २३ सम्ममा दस लाख स्वयंसेवी परिचालन गर्ने भन्ने हो’– गुएइदोले बताए । करिव ६ लाख भेनेजुयलाबासीले सीमामा रोकिएको सहायता देशभित्र ल्याउन हस्ताक्षर गरिसकेका छन् । सबै स्वयंसेवीलाई सीमामा गई सामग्री देशभित्र ल्याउन विपक्षी नेता गुएइदोले आह्वान गरेका छन् ।

सहायता कार्यको प्रत्यक्ष अवलोकनका लागि आइतबार अमेरिकी सिनेटर मार्को रुबियो कुकुटा भेनेजुयला पुगेका छन् । कोलम्बिया र भेनेजुयला जोड्ने सिमोन बोलिभार अन्तर्राष्ट्रिय पुलको पनि उनले निरीक्षण गरेका छन् । तीन वटा अमेरिकी सैनिक कार्गो विमानले दर्जनौं टन खाद्य सामग्री कुकुटा ल्याएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर