NewsKoseli.Com

वायु प्रदूषणले निम्त्याएको खतरा

वायु प्रदूषणभित्र र बाहिर दुबैतर्फबाट सिर्जित हुन्छ । गरिब परिवारलाई चुलोबाट निस्कने दाउराको धुँवा–ध्वाँसो वा गुइँठाको धुँवा पनि गम्भीर समस्या हो । जब आर्थिक विकास हुन्छ, उर्जा खपतका नयाँ साधन कलकारखाना, उद्योगधन्दा, मोटरगाडी, शहरीकरणसँगै वायु प्रदूषण झन ठूलो मुद्दा भएको छ ।

वायुको गुणस्तर सुधार्न सकिने सम्भावनासँगै नयाँ सफा प्रविधिहरु उपलब्ध भएका छन् । तर अझैपनि अदुरदर्शी नीति निर्माता भने कार्यसञ्चालनमा लाग्ने खर्च देखाउँदै गैरजिम्मेवार किसिमले पन्छिंदै अाएका छन् । आर्थिक वृद्धि र उर्जाको थप मागले वायु प्रदूषणका कारक तत्वहरु थपिने तथा यसका कारण ओजोन तह विनास र वायु प्रदूषणको मात्रा वृद्धि हुने कुरालाई अवश्यम्भावी बनाएको छ ।

‘दि इकोनोमिक कन्सेक्वेन्सीज अभ् आउटडोर एयर पोलुसन’ नामक आर्थिक सहयोग तथा विकाससम्वन्धि अन्तर्राष्ट्रिय सङ्गठन (ओइसिडी)को रिपोर्टमा वायु प्रदूषणका कारण सन् २०६० सम्ममा प्रतिवर्ष ६० देखि ९० लाखसम्म मानिसको असामयिक मृत्यु हुने अनुमान गरिएको छ, अर्थात् प्रत्येक चार–पाँच सेकेण्डमा एक व्यक्तिको मृत्यु हुनेछ । अर्को शब्दमा भन्दा वायु प्रदूषणका कारण आगामी ४५ वर्षमा २० करोड मानिसकाे मृत्यु हुनेछ ।

प्रदूषणजन्य अन्य रोग पनि बढ्नेछन् । ८ देखि १२ वर्ष उमेरका बालबालिकामा ब्रोङ्काइटिसका नयाँ समस्या अहिलेको १ करोड २० लाखबाट बढेर सन् २०६० सम्ममा प्रतिवर्ष ३ करोड ६० लाख पुग्ने अनुमान गरिएको छ । वयस्कका सन्दर्भमा भने अहिलेको ३५ लाखबाट बढेर सन् २०६० सम्ममा उक्त खालका समस्या प्रतिवर्ष १० करोड पुग्ने अनुमान गरिएको छ ।

बालबालिका दमबाट पीडित हुने क्रम अाजभाेलि बढ्दो छ । सन् २०१० को ३६ लाख प्रतिवर्षको सङ्ख्यामा रहेका प्रदूषणजन्य समस्याका कारण अस्पताल भर्ना भएका घटना भने सन् २०६० सम्ममा प्रतिवर्ष १ करोड १० लाख पुग्ने अनुमान गरिएको छ ।

स्वास्थ्य समस्या खासगरी चीन र भारतजस्ता उच्च जनघनत्व एवम् अधिक प्रदूषक पदार्थ सिर्जना हुने शहरमा बढी हुनेछ । वायु प्रदूषणका कारण हुने समस्याबाट छिटो प्रभावित हुन सक्ने वृद्धवृद्धा वा प्रौढहरूको जनसङ्ख्या धेरै भएको घनत्वकै आधारमा कुरा गर्दा पूर्वी यूरोप, ककासस क्षेत्र र दक्षिण कोरियाजस्ता एशियाका अन्य क्षेत्रमा मृत्युदर बढ्ने कुरा सुनिश्चित प्राय देखिन्छ ।

वायु प्रदूषणको प्रभावलाई अक्सर डलरमा पनि अभिव्यक्त गर्ने गरिन्छ । सन् २०६० सम्ममा प्रदूषितवायुका कारण हुने स्वास्थ्य समस्या, जसलाई अर्थशास्त्री ‘डिस युटिलिट अभ् इलनेस’  भन्दछन्, वायु प्रदुषणाका कारण ३ अर्व ७५ करोड काम गर्ने दिन गुम्नेछन् । यसको प्रत्यक्ष बजार प्रभावको रूपमा कामदारको कार्यक्षमतामा ह्रास, स्वास्थ्योपचार खर्चमा वृद्धि, कृषि उत्पादनमा ह्रास हुँदै कूल गार्हस्थ उत्पादनमा १ प्रतिशतभन्दा बढीको ह्रास आउने अर्थात् सन् २०६० सम्ममा वार्षिक २६ खर्व बराबरको क्षति हुने देखिन्छ ।

वायु प्रदूषणका कारण चुकाउनुपर्ने मूल्य डलरमा अभिव्यक्त गर्दा जति ठूलो देखिए पनि यो नै यथार्थ मूल्य भने अझै होइन । प्रदूषणजन्य विषालु ग्यासका कारण हुने असामयिक मृत्यु, श्वासजन्य एवम् मुटुसम्बन्धी समस्या र दुखाइ र पीडाको यथार्थ मूल्य यसमा समावेश गरिएको छैन, नत यसमा बालबालिकालाई खेल्न वा डुल्न निस्कँदासमेत दुर्गन्धित वायुबाट बच्न मास्क लगाउनुपर्ने वाध्यताबाट उनीहरूकाे मानसपटलमा पर्ने असरको मूल्य नै समावेश गर्न सकिन्छ । यी बाध्यता जुनसुकै मूल्य मानकमा नाप्न नसकिने खालका हुन्छन् । तर यथार्थ त के हो भने, नीतिनिर्माता भने अनुभूतिजन्य अनुभव भन्दा अक्सर अङ्कको मानकलाई मान्यता दिने गर्दछन् । यसकारण, ओइसिडीले वायु प्रदूषणको मानव स्वास्थ्यमा पार्ने असरको मूल्यबारेमा थुप्रै पटक गहन अध्ययन गरेको छ ।

औसतमा १ व्यक्तिले वायु प्रदूषणका समस्याकाे समाधानमा प्रति लाखमा आफ्नो असामयिक मृत्युको सम्भावनाकाे जोखिम टार्न ३० डलरजति तिर्न तयार हुनुपर्ने देखिन्छ । प्रचलित प्रविधिको प्रयोग गरी उक्त रकम ‘तिर्न तयार’ भएको मानिए बाह्य प्रदूषणका कारण निम्तने असामयिक मृत्यु रोक्न मानिसले देखाउने तत्परताका आधारमा अङ्कमा मापन गर्ने कोसिस गरिएको छ । यसको उदाहरणका रूपमा ओइसिडी ले सञ्चालन गरेको ‘मोर्टालिटी रिस्क भ्यालुएसन इन इनभारोमेन्ट, हेल्थ एण्ड ट्रान्सपोर्ट पोलिसी’लाई लिन सकिन्छ ।

यसरी हेर्दा बाह्य कारणले हुने वायु प्रदूषणका कारण हुने असामयिक मृत्युका कारण हुने क्षति सन् २०६० सम्ममा प्रतिवर्ष १ सय ८० देखि २ सय ५० खर्ब हुने देखिन्छ । तार्किक रूपमा भन्दा यो ‘वास्तविक मूल्य’ होइन किनकी यस्ता कुराले बजारमा भाउ पाउँदैनन् तर सही नीति समयमा तय भई प्रभावकारीरुपमा कार्यान्वयन भएमा प्रदूषणका कारण हुने असामयिक मृत्युलाई घटाउन भने अवश्य सकिन्छ ।

अब भने सरकारले वायु प्रदूषण रोकथाम गर्न खोज्दा लाग्ने खर्चको बारेमा गनगन गर्नुभन्दा प्रदूषण नियन्त्रण नभएमा मानव जीवनमा पर्ने असर न्यूनीकरण गर्न तर्फ लाग्न स्वास्थ्यमा लगानीको रुपमा लिएर अगाडि बढाइनु पर्दछ । नागरीकको जीवन हरेक मुलुकका सरकारले लिने नीतिमा भर पर्नेछ । लेखक : साइमन उप्टन ओइसिडीका वातावरण निर्देशक हुन । (प्रोजेक्ट सिन्डीकेट/राससःअनुवादः दिलीप शर्मा)

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर