NewsKoseli.Com

विश्वका समसामयिक जल्दाबल्दा समस्या र समाधानको अपेक्षा

आगामी २० देखि २५ सेप्टेम्बरसम्म संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय, न्युयोर्कमा वार्षिक महासभा आयोजना हुँदैछ । राष्ट्रसङ्घको यस महासभालाई विश्वका १९३ राष्ट्रका राष्ट्रप्रमुखहरुको शिखर सम्मेलन वा वृहत महासम्मेलन भन्ने पनि गरिन्छ ।

विश्वभरका बिभिन्न मामिला तथा समस्याहरु सुल्झाउने वा सम्बोधन गर्ने प्रयोजनले संयुक्त राष्ट्रसङ्घ अन्तर्गत थुप्रै बेग्ला बेग्लै कार्यकारी सङ्घगठन, विभाग वा निकायहरु छन् । राष्ट्रसङ्घीय महासभा नै विश्वका समसामयिक मामिला तथा समस्याउपर खुल्ला बहस र व्यापक छलफल भइ समाधान गरिने उपयुक्त थलो भएको कारणले यसको विशेष महत्व रहेको छ ।

सन् १९४५ जुन २६ का दिन राष्ट्रसङ्घको पहिलो महासभाको गठन र आयोजना भएको थियो । त्यस मिति पश्चात् प्रत्येक वर्ष निर्धारित मितिमा महासभाका बैठकहरु बस्दै आएका छन् । राष्ट्रसङ्घको बडापत्र (चार्टर) को खण्ड १५, धारा ९७ देखि १०१ सम्ममा उल्लेख भएको प्रावधान अनुसार प्रत्येक पाँच वर्षका लागि १ जना राष्ट्रसङ्घ प्रमुखको नियुक्ति हुने गर्छ । यिनलाई महासचिवको पद दिइने र सो पदीय दर्जा (प्रोटोकल)अनुसार महामहिम (हिज एक्सिल्लेन्सी) भनी सम्बोधन वा सम्मान गर्ने गरिएको छ ।

राष्ट्रसङ्घका वर्तमान महासचिवको पदमा सन् १९४४ मा दक्षिण कोरियामा जन्मिएका ७२ वर्षिय वान कि मून आसिन छन् । उनि सन् २००७ जनबरी १ मा यस पदमा नियुक्त भएका थिए ।

उनकाे पहिलो पाँच वर्षे कार्यकाल सन् २०११ को अन्त्यसम्ममा सकिने भएकोमा दोस्रो पाँच वर्षे कार्यकालका लागि पनि २१ जुन २०११ मा निर्विरोध, सर्वसम्मत रुपमा पुनर्नियुक्त भएकाले उनि यस पदमा यसै वर्षको अन्त्यसम्म बहाली रहनेछन् । राष्ट्रसङ्घीय महासचिवमा नियुक्त हुनुपूर्व सन् २००४ को जनवरीदेखि २००६ को नोभेम्बरसम्म उनले कोरियाली विदेश मन्त्रीको जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेका थिए । उनको उत्तराधिकारीलाई यस वर्षको महासभाले चयन गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको पूर्वसन्ध्यामा महासचिव वान कि मूनले वृहत प्रेस सम्मेलनको आयोजना गरी विश्वका समसामयिक जल्दाबल्दा समस्याउपर गहिरो चिन्ता व्यक्त गरेका थिए । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय, न्यूयोर्कमा गतः बुधबार आयोजित सो औपचारिक तथा वृहत प्रेस सम्मेलनमा विश्व जगतलाई हाल चिन्तित बनाएका तीन प्रमुख बिषयः विश्वभरीका ६ करोड ५० लाख शरणार्थी तथा आप्रवासीका दुखमयः गाथा, विश्व जलवायु परिवर्तनका सम्बन्धमा गत वर्ष सहमति भएको “पेरिस घोषणापत्र”प्रति आस्था र प्रतिवद्धता र लगातारको भयानक युद्धले सिरियामा उत्पन्न गराएको सङ्कटमय परिस्थिति बारे महासचिव मूनले गम्भीर र मर्मस्पर्शी सम्बोधन गरेका थिए । बिरलै मात्र देख्न पाइएको सञ्चारकर्मीको यस्तो विशाल र औपचारिक भेलामा महासचिव मून निकै भावुक भई पटक,पटक यी मेरा अन्तरात्माको आवाज हुन् भनी दोहोर्‍याएका थिए ।

अन्तर्राष्ट्रिय समुदाय सबै एकै ठाउँमा उभिई अत्यन्त इमान्दार र गम्भीर भएर जिम्मेवारी बाँड्दै सहकार्य नगरेसम्म विश्वको आप्रवासी तथा शरणार्थी समस्या समाधानतर्फ उन्मुख हुन नसक्ने मुनले दिएकाे अभिव्यक्ति यथार्थमा साँचो हो । शरणार्थी तथा आप्रवासीको यो संख्या दोस्रो विश्वयुद्ध पश्चात्को सबभन्दा विशाल र कहालिलाग्दो भएको छ । घरबार त्यागी बाध्यतावश विदेशी भूमिमा पलायन हुनुपरेका सच्चा आप्रवासी तथा शरणार्थीलाई आश्रय दिने अन्तर्राष्ट्रिय जगतको नै कर्तव्य पनि हो ।

अन्तर्राष्ट्रिय जगतका सञ्चारकर्मीहरु माझ महासचिव मूनले दिएकाे ४५ मिनेट लामो सम्बोधनको क्रममा राष्ट्रसङ्घीय महासम्मेलनमा भाग लिन विगतमा पनि हरेक वर्ष विश्वका नेताबर्ग एक हप्ताका लागि एकै ठाउँमा जमघट भएजस्तै आगामी सोमबार न्युयोर्कमा अवतरण गर्ने राष्ट्रप्रमुखले यस पटक विदेशी व्यक्ति या बस्तुसँग ब्यर्थैमा भयभीत हुने रोग (जेनोफोयिबा), जातिय अतिवाद र रङ्गभेदको धङधङिः आजको समृद्धशाली विश्वका यी तीन कमजोरी विरुद्ध जमेर सङ्घर्ष गरी जरैदेखि उखेलेर फाल्ने प्रतिवद्धता व्यक्त गर्नेछन् र यही नै यसवर्षको महासभाका ठोस उपलब्धिहरु मध्ये एउटा उल्लेख्य र लामो फड्को साबित हुनेछ भन्ने बिचार पनि महासचिवले बारम्बार दोहोर्‍यार्इ व्यक्त गरेका छन् ।

यस वर्ष आयोजित राष्ट्रसङ्घीय महासभाका मुख्य मुख्य वैठकहरु आगामी २० देखि २५ सेप्टेम्बरसम्म बस्नेछन् । त्यसभन्दा अगाडि सोमबार बस्ने विशेष सत्रको बैठकलाई “विश्व शरणार्थी तथा आप्रवासी सम्बन्धि शिखर सम्मेलन” भनी सम्बोधन गरिनेछ । शरणार्थी तथा आप्रवासीसम्बन्धि अन्तर्राष्ट्रिय सङ्घगठन (इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसन)लाई समेत सोमबार बस्ने विशेष सत्रको बैठकमा भाग लिन आमन्त्रण गरिएको छ ।

सो सङ्घगठनका उच्च पदाधिकारीलाई राष्ट्रसङ्घको मुख्यालयमा स्वागत गर्न पाइने भएकोमा प्रसन्नता ब्यक्त गर्दै सो सङ्घगठनले शरणार्थीसम्बन्धि राष्ट्रसङ्घीय उच्च आयोग (युएन हाई कमिसन फर रेफ्युजिज)सँग मिलेर जेनोफोयिबा विरुद्ध सङ्घर्ष गरी निर्मूल पार्ने विश्वास पनि महासचिवले धेरै पटक दोहोर्‍यार्इ प्रकट गरे ।

विश्वलाई हाल चिन्तित बनाएको तीन वटा प्रमुख समस्या सिरियामा जारी द्वन्द्व, जलवायु परिवर्तन, शरणार्थी तथा आप्रवासीको समस्या यथाशीघ्र समाधान गर्नुपर्ने रहेको छ । “पेरिस सहमति”प्रति प्रतिवद्धता प्रकट गर्दै यसलाई यथाशीघ्र पूर्णकार्यान्वयनमा ल्याउनको लागि पेरिस सहमतिपत्रमा हस्ताक्षर गर्ने सबै राष्ट्रहरु अग्रसर नभएसम्म र विश्वका बाँकी राष्ट्रले सच्चा हृदयले नसघाएसम्म मौसम परिवर्तन र वातावरणजन्य दुष्पभावबाट विश्वलाई बचाउने नसकिने भएको छ । त्यस्तै, आगामी बुधवार अर्को विशेष सत्रको बैठक बस्ने र यस बैठक “पेरिस सहमति शीघ्र कार्यान्वयन गरिने प्रतिवद्धता प्रकट गर्ने सम्बन्धि शिखर सम्मेलन” हुने र त्यस सम्मेलनको आतिथ्य मुनले गर्ने भएका छन् ।

शान्तिप्रेमी विश्व हाल चिन्तित हुनुपरेको अर्को प्रमुख कारणमध्ये सिरियामा सन् २०११ बाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग सुरु भएको जनआन्दोलन केहीसमयपछि गृहयुद्धमा परिवर्तन भएको सो गृहयुद्धले अझै पनि भयावह रुप लिइरहेको छ । जारी सो युद्धमा परी २ लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्युभएको छ । लाखाैँ व्यक्ति घाइते भएका छन् भने, लाखौले आफ्नो देशभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जिवन बिताइरहेका छन् । विगतमा अनपेक्षित युद्ध त धेरै देशमा चलेका थिए तर सिरियामा जस्तो भयानक नरसंहार, विध्वंश र लामो अवधिसम्म व्यापक अस्थिरता कहीँ पनि भएका छैन् ।

यसले विश्वको विगतको सबै रेकर्ड तोडेको स्मरण गराएको छ । सिरियाको युद्धविराम गराउने प्रयोजनवश हालसालै मात्र अमेरिका रसियाबीच भएको सहमति र सुरक्षा व्यवस्था सुदृढ पारिने प्रतिवद्धतालाई स्वागत गर्दै यसले एउटा सकारात्मक सङ्केत प्रदान गरेको वान कि मुनले बताएका छन् । युद्ध विराम सम्झौतामा सहमत हुने सबै युद्धरत शक्तिहरुले अब स्थायी युद्ध विराम गर्ने र लामो युद्धले आक्रान्त र जीर्ण सबै सिरियाली जनताले शान्तिको अनुभूति गर्न पाउने विश्वास अन्तर्राष्ट्रिय जगतले नै लिएको छ ।

यस महासभा आफ्नो कार्यकालको सबभन्दा अन्तिम महासम्मेलन भएकाले महासचिव मूनले अन्य धेरै विषयमा आर्जन गरेका अनुभव, दिन सकेका योगदान र आफ्नो भित्री मन्तब्यबारे गहन चिन्तन र चर्चा गरे । उनले वृहत चर्चामा ल्याएका अन्य विषयमा “दिगो विकासका लक्षहरुका सम्बन्धमा सन् २०३० एजेन्डा”, राष्ट्रसङ्घीय महिला कार्यक्रमका उपलब्धि, कोलम्बिया र साइप्रसमा भएका राजनीतिक अस्थिरताका घटना, प्रजातान्त्रिक जन गणतन्त्र (उत्तर) कोरियाद्वारा राष्ट्रसङ्घीय सुरक्षा परिषदको संकल्प प्रस्तावको उल्लंघन, मध्यपूर्वमा इजरायली र प्यालिस्टिनीबीचको लामो मनमुटाव र द्वन्द्व) इत्यादि परेका थिए ।

अविच्छिन्न दश वर्षसम्म संयुक्त राष्ट्रसङ्घ प्रमुखको पदबाट सेवा तथा योगदान पुर्‍याउने मूनका भित्री मनका भावना र उद्गारका लहरहरु चिन्तनीय मननीय छन् । वास्तवमा राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रका दृढ अठोट र शक्तिशाली राष्ट्रका सच्चा समर्थन र सहयोग नभएसम्म विश्वमा शान्ति सम्भव छैन । विश्वको एकमात्र विशाल सङ्घगठनका प्रमुखको हैसियतले सीधा शव्द प्रयोग गरेर भन्न नमिलेको वा नसकेको मात्र हो, उनले इङिगत गर्न खाेजेका छन् त राष्ट्रसङ्घका शक्तिशाली सदस्य राष्ट्रहरुलाई नै हो । प्रश्न यो छः राष्ट्रसङ्घका शक्तिशाली सदस्य राष्ट्रहरु अब जुर्मुराएर उठी, एकजूट भइ वस्तुनिष्ठता पूर्वक शान्तिपूर्ण, युद्धरहित र जताततै हरियालीयुक्त विश्वको पुनर्निमाणको महायज्ञमा शीघ्र सामेल होलान् ? यो त समयले नै बताउनेछ । रासस/(विभिन्न समाचार समितिको सहयोगमा)

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर