newskoseli.Com

अस्पताललाई आधुनिक उपकरण सहयोग

भरतपुर अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) सेवालाई थप प्रभावकारी बनाउन इटालीबाट विभिन्न आधुनिक उपकरण सहयोग भएको छ ।

इटालीको एमिसी डेला नियोनाटोलोजिया ट्रेनटिना र टोरन्टो राज्य सरकारले उपलब्ध गराएका अत्यावश्यक उपकरणसहितका सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ ।

इटालीबाट आएका एएनटी प्रोजेक्टका म्यानेजर कार्लोससहितको टोलीले अस्पतालमै आएर मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीलाई अत्यावश्यक उपकरण र सामग्री मङ्गलबार हस्तान्तरण गरेको हो ।

करिब २१ लाख मूल्य बराबरको सामान अस्पतालको एनआइसियु सेवाका लागि हस्तान्तरण गरिएको रोटरी क्लब अफ रत्ननगरका रोटरीयन शिवराज उप्रेतीले जानकारी दिए ।

सो संस्था र टोरन्टो सरकारले एनआइसियु सेवाका लागि आवश्यक श्वासप्रश्वास सहज गराउने सि प्याप मेसिन २ थान, वार्मर २ थान, सक्सन पम्प २ थान, जन्डिस भएका शिशुको उपचारमा अत्यावश्यक फोटोथेरापी मेसिन ४ थान, बेबिक्यारी ४ थानलगायत अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको हो ।

भरतपुर अस्पतालका मेसु डा. मरासिनीले भरतपुर अस्पताल गरिब जनताको उपचार गर्ने थलो भएको भन्दै सेवा विस्तार र स्तरोन्नतिमा अस्पताल लागेको बताए ।

उनले आगामी दिनमा पनि अस्पताललाई यस्ता सहयोग जारी राख्न अनुरोध पनि गरे । सामग्री हस्तान्तरण कार्यक्रममा दाता संस्थाका कार्यक्रम म्यानेजर कार्लोसले आफूहरुले पहिलोपटक भरतपुर अस्पताललाई उपचार उपकरण हस्तान्तरण गरेको भन्दै आगामी दिनमा पनि अस्पतालसंग सहकार्य गरिने बताए ।

भियतनामबाट ल्याइएको उपकरण तथा सामग्री चितवनसम्म ल्याउन लागेको करिब २ लाख रूपैयाँ ढुवानी खर्च रोटरी क्लब अफ रत्ननगर र रोट्याक्ट क्लब अफ रत्ननगरले ब्यहोरेको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष जगन्नाथ अधिकारीले भरतपुर अस्पतालका लागि आगामी दिनमा पनि यस्तै खालका सहयोग जुटाउन आवश्यक पहल गर्ने बताए ।

भरतपुर अस्पतालमा अत्याधुनिक सुविधासहितको १२ बेडको एनआइसियु सेवा सञ्चालनमा छ । उक्त टोलीले यस्तै उपकरण कान्ति अस्पताल र प्रसूति गृहलाई समेत उपलब्ध गराएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर