newskoseli.Com

तारकाङ सामुदायिक स्वास्थ्य केन्द्र भवन सञ्चालनमा

कास्की जिल्लाको पूर्वी भेगस्थित थुमाको डाँडा गाविस–९ सिमलचौरमा  ५८ लाख ४६ हजार रूपैयाँको लागतमा ‘तारकाङ सामुदायिक स्वास्थ्य केन्द्र’ पक्की भवन बनी सञ्चालनमा आएको छ ।

महिला तथा पुरुष छुट्टाछुट्टै शौचालय र भान्छा कोठासहित ११ कोठे सो भवन निर्माणका लागि बेलायती रिचार्डबाट  ४२ लाख, स्थानीयवासीबाट  १६ लाख, गाविसबाट ५२ हजार र माथिल्लो मादी जलविद्युत् आयोजनाबाट  ३० हजार रूपैयाँ प्राप्त भएको थियो ।

कल्याण शेरचन स्मृति प्रतिष्ठानले १ लाख २० हजार रूपैयाँ मूल्य बराबरका ७ शय्या र आवश्यक सामग्री उपलब्ध गराएको छ । सरकारी दरबन्दीमा रहेका २ स्टाफ नर्सले सो केन्द्रमा सेवा प्रदान गर्दै आएका छन् ।

नवनिर्मित भवनको पूर्वमन्त्री खगराज अधिकारीले सोमबार उद्घाटन गर्दै मुलुकका ग्रामीण क्षेत्रमा सञ्चालित सम्पूर्ण स्वास्थ्य केन्द्र चौबिसै घन्टा सञ्चालन गर्नुपर्ने र आवश्यक जनशक्तिसहितको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

पश्चिमाञ्चल स्वास्थ्य निर्देशक डा.  तारानाथ पौडेलले सरकारले दिँदै आएको आवश्यक औषधि र जनशक्ति उपलब्ध गराएर स्वास्थ्यचौकीबाट सक्दो सुविधा प्रदान गरिने बताए ।

बेलायती सहयोग संस्था पार्टस नेपालका सल्लाहकार क्याप्टेन पूर्णबहादुर हेल्मुले स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा विकास गर्न स्थानीय पहल हुनुपर्ने बताउँदै तत्काल एम्बुलेन्स सेवा सञ्चालनमा पहल गरिने बताए ।

कार्यक्रममा भवन निर्माण तथा सञ्चालनमा सहयोग पुर्‍याउने स्वदेशी तथा विदेशी महानुभावलाई सम्मान गरिएको थियो । सो अवसरमा लेकसिटी हस्पिटल एन्ड रिसर्च सेन्टर पोखराद्वारा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ८० जनाको स्वास्थ्य परीक्षण गरिनाका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

शिविरमा डा. सुभाष सापकोटा, डा प्रेम भुजेल, डा कृष्ण बराल, डा विष्णु नेपाली, डा सवीन बराल र डा राजनकुमार शर्मा लगायतको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा भिडियो एक्स–रे, इसिजीका साथै हाडजोर्नी, पेट तथा छातीको परीक्षण गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर