
रोल्पा जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामी पुरुषको तुलनामा महिलाको सङ्ख्या अधिक देखिएको छ ।
जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य केन्द्रका अलावा समयसमयमा सञ्चालन गरिने स्वास्थ्य शिविरमा समेत ८० प्रतिशतभन्दा बढी महिला बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा तेजेन्द्र साउदले जानकारी दिए ।
अधिकांश पुरुष वैदेशिक रोजगारीमा जाने तथा जिल्लाभित्र रहेका पुरुष पनि सरकारी स्वास्थ्य संस्थाभन्दा निजी स्वास्थ्य संस्थामा उपचार गर्ने भएका कारण पनि यो सङ्ख्या कम भएको हुन सक्ने बताइएको छ । जिल्लामा चाँडै विवाह गर्ने भएका कारण त्यसबाट देखिने समस्याका कारण महिलामा विभिन्न समस्या देखिने भएका कारण पनि महिला बिरामीको सङ्ख्या बढेको डा साउदले बताए ।
जिल्लाका सरकारी स्वास्थ्य केन्द्रमा महिलाको पाठेघर समस्या, तल्लो पेट दुख्ने, सेतो पानी बग्नेजस्ता समस्या बढी देखिएको डा साउदले बताए । महिलामा कामको अधिक बोझ, कम उमेरमा विवाह, पोषणयुक्त आहारको अभाव, धेरै सन्तान जन्माउने जस्ता कारणले जिल्लाका महिलालाई शारीरिक समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य निरीक्षक नोखराज पोख्रेलले जानकारी दिए ।