म्याग्दीको निस्कोटका एक दम्पतीले स्वास्थ्य चौकीलाई दश लाख रुपैयाँ मूल्य बराबरको जग्गा सहयोग गरेका छन् । निस्कोट–९ का खड्कचन पुन र उहाँकी श्रीमती निरु पुनले शनिबार गाउँ परिषद्को अवसरमा स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा उपलब्ध गराएका हुन।
पुन दम्पतीले दिवङ्गत बुबा तुलबहादुर पुनको स्मृतिमा उपलब्ध गराउनुभएको सो जग्गाको मूल्य दश लाख रुपैयाँ रहेको गाविस सचिव छवीलाल उपाध्यायले जानकारी दिए ।
तीन वर्षअघि स्तरवृद्धि भएको स्वास्थ्य चौकीको भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको थियो साथै जीर्ण र साँघुरो कोठा भएको भवनबाट सेवा प्रवाह हुँदै आएको छ । जग्गा प्राप्त भएपछि भवन निर्माण प्रक्रिया अघि बढाइने गाविस सचिव उपाध्यायले बताए ।