newskoseli.Com

खुला दिसामुक्त एवम् पूर्ण खोपयुक्त घोषणा

 घरघरमा चर्पी, सरसफाइ अभियान, खुला दिसामुक्त क्षेत्र नेगडाको पहिचान नाराका साथ सप्तरीको नेगडा गाविसलाई बुधबार यहाँ आयोजित एक कार्यक्रममा ३४आैँ खुला दिसामुक्त गाविस एवम् पूर्ण खोपमुक्त घोषणा गरिएको छ ।

जिल्लाको नेगडा गाविसमा आयोजित खुला दिसामुक्त गाविस घोषणा कार्यक्रममा खानेपानी सरसफाइ डिभिजन कार्यालय राजविराजका इन्जिनियर दिलीपकुमार साहले घोषणापत्र पढेर नेगडा गाविसलाई खुला दिसामुक्त गाविस घोेषणा गरेका छन्।

त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत छेदीप्रसाद यादवले पनि उक्त गाविसलाई पूर्ण खोपमुक्त गाविस घोषणा गरे । गाविसस्तरीय खानेपानी तथा सरसफाइ स्वास्थ्यता समन्वय समिति नेगडाको आयोजना र जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सप्तरीको सहजीकरणमा आयोजित कार्यक्रममा नेगडा गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नं ६ का काँग्रेस सांसद सुरेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो खुला दिसामुक्त गाविस घोषणा कार्यक्रममा यो गाविस पूर्ण खुलादिसामुक्त तथा कतै फोहोर नदेखिएको र दिसापिसावसमेत नभेटिएको शत्प्रतिशत पूर्ण खुलादिसामुक्त गाविस भएको हुनाले यसलाई खुलादिसामुक्त गाविस घोषणा गरिएको विभिन्न वक्ताले बताए ।

साथै, नेगडा गाविसमा आठसय ८१ घरधुरी रहेकामध्ये सबै घरधुरीमा चर्पी प्रयोगमा रहेको यसअघि अनुगमन खटिएका अनुगमनकर्ताले बताइएका छन् ।

घोषणा कार्यक्रममा विशिष्ट अतिथि मोहम्मद इसलाम र जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र यादव तथा राजविराज नगरपालिकाका प्रमुख धिरेन्द्रप्रसाद यादव, जिविसका गङ्गाराम साह, गैसस महासङ्घका अध्यक्ष शम्भुन्दन चौधरी, पत्रकार मिथिलेशकुमार यादव, युएनह्याबिटका जिल्ला संयोजक हरि बुढाथोकी, एसएनभी वासका सल्लाहकार कृष्ण जिसी, पिआरडिसीका कार्यकारी निर्देशक जनक गिरी, खुला दिसामुक्त गाविस नेगडाका उच्चस्तरीय समितिका संयोजक अमरेन्द्र यादवसहितका वक्ताहरुले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

गाविससचिव तथा भिवासिसीका अध्यक्ष शेरबहादुर दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न ठाउँबाट ल्याएका ख्यातिप्राप्त कालाकारबाट सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

यसैबीच, नेगडा गाविसले सो कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा जिल्लाबाट गएका राससकर्मी अरुणकुमार यादवलगायत विभिन्न अतिथिलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर