newskoseli.Com

किन दोब्बर भइरहेछ एचआर्इभी संक्रमितको सङ्ख्या ?

एचआर्इभी/एड्स तथा अन्य यौनजन्य गम्भीर रोगहरूको न्यूनीकरण तथा निवारणका नाममा दशकौंदेखि सरकारी कोषबाट अरबौं खर्च हुँदै आएको छ । यही नाममा अनेकौं विदेशी दातृनिकाय र एनजीओ/आर्इएनजीओहरूले पनि आ–आफ्ना सञ्चाल देशभर फैलाएका छन्  र डलरको खोलो बगाइरहेको चर्चा यत्रतत्र सुनिन्छ ।

तर,  एचआर्इभीरएड्स तथा गम्भीर यौनजन्य रोगहरूको न्यूनीकरण तथा निवारण हुनुको सट्टा दोब्बर भैरहेका तथ्यांक सार्वजनिक हुने गरेका छन् । सरकारले चालु आर्थिक वर्षको भदौदेखि मङ्सिरसम्म गरेको अध्ययनमा एचआर्इभीको मुख्य जोखिममा रहेका यौनकर्मी महिलाको सङ्ख्या दोब्बर वृद्वि भएको देखापरेको छ ।

स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा ४४ जिल्लामा तथ्याङ्क सङ्कलन र ३१ जिल्लामा सङ्ख्या आँकलन गरी गरिएको अध्ययनले महिला यौनकर्मी, तेस्रोलिङ्गी, पुरुष यौनकर्मी, समलिङ्गी पुरुष तथा पुरुषसित यौनकार्यमा संलग्न हुने अन्य पुरुष, सुईद्वारा लागू पदार्थ लिने व्यक्ति, आप्रवासी कामदार र उनीहरुका यौनसाथीको तथ्याङ्क सङ्कलन गरिएको थियो ।

तथ्याङ्कअनुसार महिला यौनकर्मी न्यूनतम ४३ हजार ८ सय २९ र अधिकतम ५४ हजार १ सय ९७ रहेको देखिएको छ । यो सङ्ख्या सन् २०१० मा सङ्कलन गरिएको तथ्याङकभन्दा करिब दोब्बर हो । ७ वर्षअघि यो सङ्ख्या न्यूनतम २४ हजार ६ सय ४९ र अधिकतम २८ हजार ३ सय ५९ थियो ।

तेस्रोलिङ्गी, पुरुष यौनकर्मी, समलिङ्गी पुरुष तथा पुरुषसित यौनकार्यमा संलग्न हुने पुरुषको सङ्ख्या न्यूनतम ८७ हजार ८ सय २६ देखि अधिकतम १ लाख ११ हजार ८ सय ५२ रहेको तथ्याङ्कले देखाएको छ ।

सुईद्वारा लागू पदार्थ लिने व्यक्तिको सङ्ख्या भने न्यूनतम २७ हजार २ सय २६ र अधिकतम ३४ हजार ३ सय ७५ छ । यो सङ्ख्याले नेपालमा अझै पनि एचआर्इभीको जोखिम बढाइरहेको देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले यस अध्ययनको मुख्य उद्देश्य एचआर्इभीको मुख्य जोखिममा रहेका समूहका बारेमा अनुमानित आँकलन गर्नु रहेको बताए । एचआर्इभी/एड्सको सङ्क्रमण नियन्त्रणका लागि नीति, नियम, रणनीति तयार पार्न तथा कार्यक्रम तर्जुमाका लागि यो अध्ययन महत्वपूर्ण भएको उनले बताए ।

लागू पदार्थ प्रयोगकर्ताका लागि काम गर्दै आएको ‘रिकभरिङ नेपाल’ का राष्ट्रिय अध्यक्ष विष्णु फुँयाल शर्माले यो तथ्याङ्क वैज्ञानिक नभएको र सरकारले हचुवाका भरमा तथ्याङ्क सार्वजनिक गरेको टिप्पणी गरे । सन् २०१० को भन्दा अहिलेको तथ्याङ्क निकै अपत्यारिलो भएको उनले बताए ।

शर्माले भने– ‘‘अघिल्लो अध्ययनमा सुईबाट लागू पदार्थ लिनेको सङ्ख्या करिब ५४ हजार थियो, अहिलेकोमा बढीमा ३४ हजार देखिएको छ । बीचका ती व्यक्ति कहाँ गए ? उनीहरुको बारेमा यो तत्यांकले केही उल्लेख गरेको छैन । त्यसैले दाताको कार्यक्रम भएकाले यो कार्यक्रमलार्इ निरन्तरता दिएजस्तो देखाउन मात्र हचुवाका भरमा ल्याइएको तथ्याङ्क हो ।’’

सरोकारवाला मनिषा ढकालले पनि तथ्याङ्क सतही रुपमा मात्र देखिएको बताइन् । सरकारले दिएकाे सङ्ख्या कुनैको अघिल्लोभन्दा निकै धेरै र कुनै समूहको निकै थोरै देखाइएको छ तर के कारण घटे वा बढे भन्ने विषय स्पष्ट नपारिएको उनले बताइन् ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका तथ्याङ्क अधिकृत वीरबहादुर रावलले तथ्याङ्कमा आएका असन्तुष्टिबारे जिज्ञासा राख्दा तथ्याङ्क पुनः विश्लेषण गरिने बताए । यो तथ्याङ्क मापन कार्यक्रम ‘सेभ द चिल्ड्रेन’, ‘ग्लोबल फ्रन्टसम्बन्धित राष्ट्रिय सञ्जाल’ र ‘इन्टरपिड नेपाल’ को सहयोगमा सम्पन्न भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर