newskoseli.Com

पानी पिउन अल्छी : मिर्गौलालाई सास्ती !

“बाहिर त कहाँ पानी पिउनु ! पटकपटक शौचालय जानुपर्छ, म त घरमा मात्र पानी पिउँछु” यदि हामीमध्ये कसैले यस्तो खालको बानी अपनाएका छौं भने ख्याल राखौं– आफूले आफ्नै मिर्गौला बिगार्दैछौं ।

आम्दानीका लागि विदेशिएका युवाको मिर्गौलामा समस्या देखिएपछि वर्ष दिन नबित्दै स्वदेश फर्कनुपरेका घटना पछिल्लो समय निकै सार्वजनिक हुन थालेका छन् । जाँदा चिकित्सकको प्रतिवेदन राम्रो आए पनि खाडी मुलुक पुगेपछि त्यहाँ हुने जलवियोजनका कारण मिर्गौलामा समस्या देखिएको विभिन्न अनुसन्धानले देखाएको छ ।

खाडी मुलुक गएका युवाले लामो समयसम्म काम गर्ने, आवश्यक मात्रामा पानी नपिउने र शरीरको थकाइ–दुखाइबाट छुटकारा पाउन पेनकिलर (नदुख्ने औषधि) खाने र अत्याधिक मासु सेवन गर्ने गरेकाले धेरैको मिर्गौलामा समस्या देखिएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिराम काफ्ले बताउँछन् ।

शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो । यसबाहेक मिर्गौलाले हर्मोन पैदा गर्ने काम पनि गर्छ । रगत बन्नका लागि आवश्यक हर्मोन यसैले बनाउँछ । शरीरको आन्तरिक वातावरण मिलाउने काम मिर्गौला र फोक्सोको हो । हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम पनि मिर्गौलाकै हो ।

पर्याप्त पानी नपिउँदा मिर्गौलाले काम गर्न छोडेकाले नेपाल फर्कनुपर्ने अवस्था बढ्न थालेको हो । पानी मात्र होइन, खानामा आएको परिवर्तन र मोटोपनले पनि मिर्गौला खराबीको जोखिम बढाएको छ ।

मोटोपनले पनि मिर्गौला खराब गर्ने भएकाले खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने चिकित्सकको भनाइ छ । अनियन्त्रित खानपान र व्यायामको कमीका कारण मोटोपन बढ्दै जान्छ । मोटोपन हुनु मिर्गौलामा समस्या हुन सक्ने सङ्केत पनि हो ।

त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. दिव्यसिंह ठकुरी मधुमेह र उच्च रक्तचापका बिरामीमा पनि मिर्गौलाको समस्या बढी देखिने बताउँछन् । यस्ता कारणले मात्र पनि मिर्गौलामा खराबी नदेखिने भएकाले बेला–बेलामा पिसाब र रगत जाँच गरी मिर्गौलाको अवस्थाबारे थाहा पाइ राख्नुपर्नेमा उनको जोड छ ।

हामीले चौबीस घन्टामा कम्तिमा दुई लिटर पिसाब फेर्नु आवश्यक हुन्छ तर मिर्गौलामा कुनै समस्या भए पिसाब कम हुँदै जान्छ र यसको रङ पनि फरक हुन्छ । पिसाबमा फिँज देखिन्छ, जिउ सुनिन्छ, सास फेर्न गाह्राे हुन्छ, रक्तचाप बढ्छ, खानामा रुचि घट्दै जान्छ र खानै मन नलाग्ने पनि हुन्छ । यीमध्ये कुनै पनि समस्या छन् भने तुरुन्त जाँच गराउनुपर्छ ।

नेपालमा १२ प्रतिशत मानिसलाई मधुमेह भएको तथ्याङ्कमा उल्लेख छ, जसमध्ये ३५ देखि ४० प्रतिशतको मिर्गौला खराब हुन्छ । रक्तचाप भएका १५ देखि २० प्रतिशतको पनि मिर्गौला खराब हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।

डा. ठकुरीका अनुसार नेपालमा प्रत्येक वर्ष करिव ३ हजार अन्तिम अवस्थाका मिर्गौलाका नयाँ रोगी थपिने गरेका छन् र उनीहरु डायलासिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक १० मध्ये १ जनालाई कुनै न कुनै प्रकारको मिर्गौलासम्बन्धी समस्या हुन्छ । त्यसैले मिर्गाैला स्वस्थ राख्न सन्तुलित खानपान र पर्याप्त पानी पिउनुका साथै व्यायाम गरेर शरीरलाई सक्रिय राख्नु पर्ने उनको सुझाव छ । समयमै ध्यान पुर्‍याउन सके सबै मिर्गौला रोग निको हुन्छन् ।

सरकारले मिर्गौला रोगीका लागि डायलासिस सेवा निःशुल्क गरेको छ । मिर्गौलाको उपचार महँगो भएकाले नेपालीले सहज रुपमा उपचार पाउन सकून् भनेर डायलासिसजस्तै आगामी वर्षदेखि मिर्गौला प्रत्यारोपण सेवा समेत निःशुल्क गर्ने तयारी गरिरहेको स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताएका छन् ।

नेपालका ४३ सरकारी तथा निजी अस्पतालमा डायलासिस सेवा उपलब्ध छ भने वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ ।

सन् २००६ देखि विश्वमा हरेक वर्षको मार्चको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको छ । यस वर्ष पनि मिर्गौला रोग र मोटोपनबारे सचेतना जगाउँदै ‘स्वस्थ मिर्गौलाका लागि स्वस्थ जीवनशैली’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदैछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर