newskoseli.Com

‘थप म्युजिक भिडियो ल्याउन दर्शक–श्रोताको प्रोत्साहन छ’

Prem Saru Magar० तपाईंंको छोटो परिचय दिनुहोस् न !

मेरो नाम प्रेम सारु मगर । जन्म खाँडादेवी गाउँपालिका वडा नं. ७ (साविक खाँडादेवी गाविस– ५, रस्काँडा, रामेछाप) मा २०४६ मा भएको हो ।

० तपाईंं त खेलकुद क्षेत्रमा क्रियाशील व्यक्ति, गीत–संगीतसंगीततिर पनि पाइला चाल्नुभएछ नि ? रहर हो कि अरु केही कारणले लाग्नुभयो गीत–संगीतमा ?

मलाई सानैदेखि खेलकुद र गीत–संगीत दुवै विधामा असाध्यै रुचि थियो । त्यसै सिलसिलामा मैले सानै उमेरदेखि नै खेलकुद क्षेत्रमा निकै ठूलो संघर्ष र मेहनत गरें । अहिले पनि खेलकुद क्षेत्रमा मेरो क्रियाशीलता घटेको छैन । तर मलाई गीत–संगीतप्रति पनि असाध्यै रुचि भएकाले यस क्षेत्रमा पनि सक्रियतापूर्वक पाइला अघि बढाउने प्रयास गरेको हुँ ।

Photo1 ० कहिलेदेखि लाग्नुभयो नि गीत–संगीत क्षेत्रमा ? यस क्षेत्रमा प्रवेश गर्न कसको प्रेरणा रह्यो ?

मलाई सानैदेखि यो क्षेत्र असाध्यै मन पर्थ्यो । औपचारिक रुपमा भन्ने हो भने चाहिँ २०६५–०६६ देखि गीत–संगीत क्षेत्रमा प्रवेश गरेको हुँ । म स्कुल पढ्दा त्यहाँ आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएको हुँ । त्यसले पनि मलाई यो क्षेत्रमा लागिरहन प्रेरणा मिल्दै गयो । गाउँघरमा हुने विभिन्न मेला पर्वहरुमा पनि म गीत गाउने गर्थे । त्यस क्रममा मेरा धेरै साथीहरु, अग्रज दाजुहरु, विद्यालयका गुरुहरु, गीत–संगीत क्षेत्रमा क्रियाशील भएका थुप्रै व्यक्तिहरुले समेत तिम्रो स्वर राम्रो छ, तिमीले गीत–संगीतमा केही गर्न सक्छौ भनेर हौसला दिने गर्नुहुन्थ्यो । यसो गर्दा मलाई भित्रभित्रै खुशी र हौसला समेत मिल्थ्यो । जसले गर्दा मलाई यो क्षेत्रमा पनि केही गर्नुपर्छ भन्ने लागिरहेको थियो । त्यसैले म गीत–संगीत क्षेत्रमा क्रियाशील हुने सोचाईमा पुगेँ र त्यही अनुसार क्रियाशील रहेँ ।

० तपाईंको अहिलेसम्म के कति गीत रेकर्ड भएका छन्, आफ्नै शब्द र संगीत पनि छन् कि ? यसबारेमा तपाईंका दर्शक, स्रोता र पाठकलाई केही जानकारी दिनुहोस् न !

मैले अहिलेसम्म तीनवटा एल्वममा शब्द संकलन र लय भरिसकेको छु । त्यसैगरी पछिल्लो समयमा मेरो आफ्नै शब्द र संगीतमा पूर्णकला विसि र मेरो आवाजमा रहेको लोक तथा दोहोरी गीत ‘परेली झिमीझिमी’ म्युजिक भिडियोसहित बजारमा उपलब्ध छ ।

० ‘परेली झिमीझिमी’ कस्तो खालको म्युजिक भिडियो हो ? यसले दर्शक स्रोतालाई कस्तोखालको मनोरञ्जन दिन्छ ?

विशेषगरी परेली झिमीझिमी अहिलेको युवा पुस्ताले मन पराउने रोमान्टिक खालको शब्द र संगीतले सजिएको म्युजिक भिडियो हो । खासगरी यस म्युजिक भिडियोलाई बालबालिका, युवा–युवतीदेखि बृद्ध बृद्धासम्मका दर्शक स्रोतासम्मले मन पराएका छन् । यो म्युजिक भिडियो हेरेपछि र सुनेपछि जुनसुकै उमेर समूहका दर्शक र स्रोताले मन पराउने मात्रै होइन, सबैले भरपूर आनन्द लिने गरेका छन् ।

Photo2

० परेली रिमीझिमीका केही शब्दहरु हाम्रा पाठकहरुलाई बताइदिनुहोस् न !

हेर्दाहेर्दै बेहोस् भई ढलें तिम्रो रुपले

मेरो त मन जलें

मन पर्‍यो तिमी…

ओइ काली मनपर्‍यो मलाई तिमी,

मान्छे नक्कली, परेली झिमीझिमी…

० साँच्चै राम्रो रहेछ नि, युवापुस्ताले मन पराउने शब्दहरू त…. होइन ?

हा…हा… हा… । (हाँस्दै) हो, अहिलेको युवा पुस्ताले गीत–संगीतबाट के–कस्तो मनोरञ्जन लिन सक्छन् भन्ने कुरालाई ख्याल गरेरै यो म्युजिक भिडियो निर्माण गरिएको हो ।

० बजारबाट कस्तो रेस्पोन्स पाउनु भएको छ ?

अहिलेसम्म राम्रो रेस्पोन्स आएको छ । सबै तिरबाट तपाईंहरुको गीतको शब्द र संगीत राम्रो छ, म्युजिक भिडियो पनि मनोरञ्जन दिने खालको छ भन्ने प्रतिक्रिया अाएको छ ।

० तपाईं कत्तिको सन्तुष्ट हुनुहन्छ ?

म एकदमै सन्तुष्ट छु । मेरो गीतको म्युजिक भिडियो हेर्नुहुने सम्पूर्ण दर्शक–श्रोता मित्रहरुले गीत–संगीत राम्रो छ भनिरहनु भएको छ । उहाँहरुले थप म्युजिक भिडियो ल्याउन भन्दै प्रोत्साहन दिनुभएको छ । यसले मलाई निकै उत्साहित बनाएको छ । साथै म निकै सन्तुष्ट पनि छु ।

० गीत–संगीत क्षेत्रमा केही विकृतिहरु पनि छन् भन्ने सुनिन्छ नि ? यस्ता विकृति र विसंगति रोक्न के कस्ता काम गर्नुपर्ला ? यसबारेमा तपाईंको भनाइ के छ ?

लोक संगीतमा केही मात्रै होइन, धेरै विकृति छन् । यद्यपि यहाँ सबै नराम्रा पक्ष मात्रै छन् भन्ने कुरा होइन । धेरै राम्रा पक्षहरु पनि छन् । विशेषगरी आफू चर्चामा आउनको लागि गीत लेख्ने सर्जकले पनि जस्तो पनि शब्द कोरिदिने र मोडलले पनि आफू चर्चामा आउनको लागि जस्तोसुकै आफ्नो प्रस्तुती दिन तयार हुने अवस्था छ । यो राम्रो कुरा होइन । लोकसंगीतमा देखिएको विकृतिलाई रोक्नका लागि सर्जकले शब्द संकलनमा ध्यान दिनुपर्छ । लोक संगीतले नेपाली कला र संस्कृतिलाई झल्काउनु पनि आवश्यक छ । त्यसैगरी बालबालिकादेखि युवापुस्त हुँदै सबै उमेर समूहका व्यक्तिहरुले मन पराउने खालको शब्द चयन गर्न आवश्यक छ । यस विषयमा सबै पक्षको ध्यान पुग्न आवश्यक छ ।

० दर्शक–श्रोतालाई अब नयाँ के पस्कने तयारीमा हुनुहुन्छ ?

मेरो पहिलो प्रस्तुतिलाई दर्शक–श्रोताले निकै मन पराइदिनु भएकोमा म सबैप्रति कृतज्ञताका साथ आभार प्रकट गर्दछु । उहाँहरुको न्यानो मायालाई सम्मान गर्दै अब म छिट्टै नै दोस्रो प्रस्तुति लिएर आउने तयारीमा छु ।

० कस्तो हुँदैछ दोस्रो प्रस्तुति ? त्यसको केही झलक बताइदिनोस् न !

त्यो प्रस्तुति पनि माया–पीरतिकै शब्दहरुले भरिएको छ । प्रेमी–प्रमिकाबीच माया–पीरति आदान–प्रदानकै सेरोफेरोको हुनेछ मेरो दोस्रो प्रस्तुति । यसमा पनि मेरै शब्दरचना, लय, संगीत तथा स्वर रहनेछ ।

० अन्त्यमा, न्युजकोसेली डटकम (अनलाइन पत्रिका) मार्फत आम दर्शक स्रोता र पाठकलाई थप केही भन्न चाहनुहुन्छ ?

म यति मात्रै भन्छु कि हामी सबैले हाम्रो कला र संस्कृतिको जगेर्ना गर्नुपर्छ । त्यसका लागि लोक गीत–संगीत सुन्ने गरौं । सर्जकहरुलाई प्रोत्साहन गरौं । हरेक क्षेत्रमा राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् । हामीले के राम्रो हो, के होइन, छुट्याउनु पर्छ । राम्रा र सकारात्मक कुराको पक्षपोषण गरौं । यसो गर्न सकियो भने नराम्रो पक्ष विस्तारै हराउँदै जान्छ । लोक गीत–संगीतले सही बाटो लिन्छ । म तपाईंहरुको लोकप्रिय सञ्चार माध्यमबाट मेरा आम दर्शक, स्रोता र पाठकहरुलाई यही सन्देश दिन चाहन्छु । साथै मेरा भावनाहरु व्यक्त गर्ने मौका दिनुभएकोमा तपाईंहरुको लोकप्रिय सञ्चार माध्यमप्रति हार्दिक आभार व्यक्त गर्दछु । ‘जय लोकदोहोरी ।’

प्रस्तुति : विदुर ढुंगेल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर