newskoseli.Com

एड्स सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दै

एड्स सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दै

 

चितवन, ९ वैशाख । एचआइभी एड्स सङ्क्रमित आमाहरुले उच्च सावधानी अपनाउन सकेमा सुरक्षित बच्चा जन्माउन सक्ने भएका छन् ।

भरतपुर अस्पतालभित्र रहेको एड्स हेल्थ फाउन्डेसन नेपालले सङ्क्रमित महिलालाई सङ्क्रमित आमाबाट सुरक्षित बच्चा जन्माउन सहयोग गर्दै आएको छ । गएको एक वर्षमा गर्भवती आठ आमामध्ये चारजनाले सुरक्षित बच्चा जन्माइसकेका छन् भने चारजना जन्माउने तयारीमा छन् । फाउन्डेसनका संयोजक कृष्ण सापकोटाका अनुसार अघिल्लो वर्षको वैशाखबाट गत चैत मसान्तसम्ममा चारजना आमाले सुरक्षित बच्चा जन्माएका हुन्  ।

सन् २०१५ भरमा सुरक्षित बच्चा जन्माउने आमाको सङ्ख्या ६ रहेका थिए। विसं २०६५ बाट कार्य गर्र्दै आएको उक्त संस्थाको सहयोगमा हालसम्म ७० जना एचआइभी सङ्क्रमित आमाले बच्चा जन्माइसकेका छन् । जसमध्ये तीनजना बच्चामा मात्रै एचआइभी एड्सको सङ्क्रमण भेटिएकाे छ । संयोजक सापकोटाका अनुसार तीमध्ये दुईजनाको मृत्यु भइसकेको छ भने एकजना जीवित रहेको र औषधि सेवन गरिरहेका छन् ।

फाउन्डेसनमा एचआइभी सङ्क्रमितलाई औषधि उपचार गर्दै आएका डा उन्नत श्रेष्ठका अनुसार नियमित औषधि सेवन गर्ने, सुत्केरी गराउन अस्पताल आउने आमाबाट जन्मिएका बच्चा सङ्क्रमणरहित हुने प्रवल सम्भावना हुन्छ ।

सामान्यतः औषधि प्रयोग नगरेका आमाबाट जन्मिएका बच्चामा चारजनामध्ये एकजनामा एचआइभी सङ्क्रमण सर्ने सम्भावना रहन्छ भने औषधि सेवन गरेका र उच्च सतर्कता अपनाएका आमाबाट जन्मिएका अधिकतम बच्चा सङ्क्रमणबाट बचाउन सकिने डाक्टर श्रेष्ठकाे भनाइ छ । बच्चा जन्मदा रगतमा बढी लतपत हुने र जन्मिएपछि छ हप्तासम्म नेभिरापिन नामक औषधि खुवाउनुपर्ने हुँदा बच्चा जन्माउँदा अनिवार्य अस्पतालमा आउनुपर्ने उहाँले बताउनुभयो । रगतको कम लतपत होस् भन्नका लागि यस्ता आमाको शल्यक्रिया गरी बच्चा निकाल्ने गरिन्छ ।

भरतपुर अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा मोना श्रेष्ठले एचआइभी सङ्क्रमित आमाबाट बच्चा जन्माउन अन्यत्र कसैले नमान्ने भए पनि आफूहरुले भरतपुर अस्पतालमा नियमित रुपमा यो काम गरिरहेको बताइन् । उनीहरुलाई औषधि उपचार गराउने चिकित्सकले दिएको परामर्शअनुसार सङ्क्रमित आमाले सावधानी अपनाएर काम गरेमा रोग नसर्ने डाक्टर माेनाकाे भनार्इ छ ।

एचआइभी सङ्क्रमितले एन्टिरेट्रोभाइरल थेरापी प्रयोग गर्दै आएका छन् । चितवनमा हालसम्म दर्ता भएका एक हजार २९१ सङ्क्रमितमध्ये ६१५ जनाले हाल थेरापी प्रयोग गर्दै आएका छन् । चिकित्सकले गर्भ रहनुभन्दा दुई वर्षअघिदेखि थेरापी प्रयोग गर्दै आएका र सिडी फोरको तह ५०० भन्दा माथि भएका महिला अरु बढी सुरक्षित हुने गरेको बताएका छन् ।

फाउन्डेसनका संयोजक सापकोटा विश्वमा क्युवामा शतप्रतिशत आमाले सुरक्षित बच्चा जन्माएको तथ्याङ्क बाहिर आएको बताउछन्। त्यसपछि नेपालको भरतपुर केन्द्र सुरक्षित बच्चा जन्माउने दोस्रो नम्बरमा रहेको उनकाे दाबी छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर