newskoseli.Com

क्यान्सरको उपचार निम्ति ५ लाख सहयोग : स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले ५ लाख रूपैयाँ सहयोग गर्ने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको हालै निर्माण सम्पन्न स्मृति भवनको पहिलो र दोस्रो तलाको साँचो हस्तान्तरण कार्यक्रममा उनले क्यान्सरका बिरामीको सहज उपचार होस् भनेर सहयोग रकम थप गर्ने तयारी गरिएको बताए ।

सरकारले विपन्न एवम् गरिब क्यान्सरका बिरामीका लागि सुरुमा ५० हजार रूपैयाा सहयोग रकम दिँदै आएकामा यसलाई वृद्धि गरी अहिले १ लाख दिँदै आएको छ । मन्त्री थापाले भने– “क्यान्सरको उपचार निकै महँगो छ, यसको उपचार सहज होस् भन्ने उद्देश्यले सरकारले कम्तिमा ५ लाखसम्म सहयोग गर्नुपर्छ भनेर अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छाैं, अर्थ मन्त्रालयले यसलाई स्वीकृत गर्‍यो भने यो सहयोग बिरामीले पाउनेछन् ।”

सकेसम्म नागरिक बिरामी हुने अवस्था नै नआओस् भनेर सरकार प्रयत्नशील रहेको चर्चा गर्दै मन्त्री थापाले यसका लागि पूर्वाधारको तयारी, नागरिकको सहभागिता र साझेदारीका काम अगाडि बढाइएको बताए । “कडा रोग लाग्दा सबै घरखेत सकिने अवस्था छ, त्यही कुरालाई मनन् गरेर देशभरका सरकारी अस्पतालको अवस्था एवम् सेवा–सुविधालाई प्रभावकारी र सुदृढ पार्ने काम गरिरहेका छौं”, मन्त्री थापाले भने– “औषधि पनि सस्तो पार्दै जाने र सरकारको सहयोग वृद्धि गर्न सके बिरामीका परिवारमा आर्थिक सङ्कट उत्पन्न भर्इ गरिबी बढ्ने अवस्था रोक्न सकिन्छ ।”

उपचारका लागि अब काठमाडौं नै धाउनुपर्ने अवस्था नआओस् भनेर सरकारले जिल्ला–जिल्लाका अस्पतालको सेवा, सुविधा र गुणस्तरीयता वृद्धि गर्न लागेको बताउँदै उनले भने– “गङ्गालाल अस्पताल काठमाडौंमा छ तर गङ्गालालको सेवा भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट दिने गरी सेवा सुरु गरेको छाैं, जनकपुर अञ्चल अस्पतालबाट पनि यो सेवाका लागि प्रारम्भिक काम गरेका छौं, क्यान्सर रोगको उपचार सेवा दिन गिरिजाप्रसाद कोइरालाको नाममा सञ्चालन गर्ने गरी नेपालगञ्जमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका छाैं, पूर्वाञ्चलमा कोसी अञ्चल अस्पताललाई अझै विकास गर्न लागिरहेका छाैं ।”

सरकारी अस्पताल र गैरनाफामूलक अस्पताल विस्तार गरेर थप सेवा गर्दै लैजान सके अहिले भएकै स्रोतबाट पनि चलाउन सक्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्री थापाले अस्पतालको सेवा सुदृढ गर्न, बलियो बनाउन र सेवा सस्तो बनाउन सकेमा क्यान्सरको उपचार ५ लाख रूपैयाँभन्दा कममै हुन सक्ने बताए । भक्तपुर क्यान्सर अस्पतालका लागि आवश्यक प्राविधिक सामग्री एवम् उपकरण किन्नका लागि सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमाको कानुन सहितको प्रस्ताव वैशाख ७ मा बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको बताउँदै मन्त्रिपरिषद्ले यसलाई पारित गरेलगत्तै पूर्वाधारको विकासमा लाग्ने र अर्को वर्षदेखि सबै नेपालीको स्वास्थ्य बीमा अनिवार्य लागू हुने मन्त्री थापाले बताए ।

मन्त्री थापाले भने– “स्वास्थ्य बीमा लागू भएपछि प्रिमियम पनि तिर्न नसक्ने अति विपन्न नागरिकको प्रिमियम सरकारले तिर्छ, बाँकी सबैले परिवारकै बीमा गर्नुपर्छ, त्यसपछि उपचारका लागि मलाई १ लाख, २ लाख रूपैयाँ देउ भन्ने अवस्था आउँदैन, उपचार बीमाले गर्छ ।”

कार्यक्रममा मन्त्री थापाले क्यान्सर अस्पतालको स्मृति भवन निर्माणमा ४ करोड सहयोग गर्ने बागबजार, काठमाडाैं निवासी चिनीकाजी श्रेष्ठ र श्रीमती शान्तदेवी श्रेष्ठलाई सम्मान गरे । ४ करोड ८० लाखको लागतमा निर्माण भएको भवनका लागि थप ८० लाख रूपैयाँ भने विभिन्न दाताबाट सङ्कलन गरिएको थियो ।

१५ शैय्या र १५ कर्मचारीबाट सुरु भएको यो अस्पताल अहिले १ सय ५० शैय्यामा विस्तार भएको अनि २ सय कर्मचारीले एक वर्षमा ६० हजारसम्म बिरामीलाई सेवा दिँदै आएको अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपानेले कार्यक्रममा बताए । अहिले पनि ४० प्रतिशत विपन्न बिरामीलाई सेवा दिँदै आएको यस अस्पतालमा आवश्यक केही पूर्वाधारको विकास र उपकरणका लागि सरकारले सहयोग गरे क्यान्सरको सम्पूर्ण उपचार यहींबाट गर्न सकिने उनले बताए ।

अनुदान बृद्धि र प्रविधिमा सहयोग भए सरकारले तोकेको शुल्कभन्दा पनि कम शुल्कमा सेवा सकिने मेडिकल डाइरेक्टर डा. न्यौपानेले दाबी गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर