newskoseli.Com

नाकबाट रगत बग्ने क्रम बढ्दो : किन हुन्छ यस्तो समस्या ?

विभिन्नखाले सङ्क्रमण र अत्यधिक गर्मीले नाक सुक्खा हुँदा नाकबाट रगत बग्ने (नाथ्री फुट्ने) समस्या बढी देखिन थालेको छ । वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. लालकिशोर यादवले नाकबाट रगत बग्ने कारण अनेकौं भए पनि सङ्क्रमण नै मुख्य कारण भएको बताएका छन् ।

“नाक कोट्याउने बानी, चोटपटक, ठोक्किएर, पिनास भएर, नाकभित्रको मसिनो पर्दा (रक्तनली) फुटेर रगत बग्ने सम्भावना बढी हुन्छ”, उनले भने– “त्यस्तै, रगत जमाउने तत्वमा कमी आउँदा, रगत पातलो बनाउने औषधिको सेवनजस्ता कारणले पनि रगत बग्ने गर्छ ।”

ओम अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख डा. अनिल झाले पछिल्लो समय अत्यधिक धुलोका कारणले पनि नाकलाई सुक्खा बनाउँदा नाकको भित्री भागमा रगतको सम्प्रेषण हुने नली फुट्न सक्ने बताए ।

“कसैलाई रगत बगेर केही समयमा रोकिन सक्छ तर लामो समयसम्म रगत बगिरहेमा चिकित्सकसँग सल्लाह लिनुपर्छ”, उनले भने– “नत्र समस्या बढ्न सक्छ, चिकित्सककहाँ जान समय लाग्ने भए र रगत बग्न नरोकिए घरमै नाकलाई थिचेर मुखबाट स्वास फेर्ने तथा नाकमाथि बरफ राख्दा केही हदसम्म लाभ हुन्छ ।”

चिकित्सककाअनुसार वृद्धवृद्धालाई विभिन्नखाले समस्या देखिने र बच्चाका पनि बढी नाक कोट्याउने, घाममा बढी खेल्ने भएकाले यी उमेरका व्यक्ति बढी प्रभावित हुने गर्छन् । धेरै रगत बग्दा रक्तचाप कम हुने, चक्कर लाग्ने, नाकमा अन्य समस्या देखापर्ने र अत्यधिक रगत बग्दा ज्यानलाई जोखिम हुने भएकाले समयमा उपचार गराउनुपर्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर