newskoseli.Com

बल्ल सञ्चालनमा आयो स्तन क्यान्सर जाँच्ने ‘मेमोग्राम’

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मेमोग्राम (स्तन क्यान्सर पत्ता लगाउने मेसिन) सञ्चालनमा ल्याइएको छ । स्तन क्यान्सर भएको छ कि छैन भनी थाहा पाउन गरिने स्तनको एक्सरे (मेमोग्राम) गर्न दस वर्षअघि खरिद भएको यो मेसिन बल्ल सञ्चालनमा आएको हो ।

यसअघि यो मेसिन प्रयोगविहीन अवस्थामा थन्किएको थियो । त्यो मेसिन खरिद भएको जानकारी नभएकाले प्रयोगविहीन भएको बताउँदै अस्पतालका निर्देशक प्रा.डा. अमीरबाबु श्रेष्ठले भने– “यहाँ त क्यान्सरको पनि जाँच हुने भएकाले मेमोग्रामको सुविधा दिने कुरा चल्दा यो मेसिन पहिले नै खरिद भएको तर प्रयोगमा नआएको थाहा पाएँ । त्यसपछि मर्मत गरेर करिव चार महिना अघिदेखि नै सञ्चालन गरिरहेका छौं ।”

बिरामीलाई उपचारका लागि गर्नुपर्ने सम्पूर्ण जाँच अस्पतालबाटै उपलब्ध गराउनका लागि अस्पतालका वरिष्ठ लेखाअधिकृत चन्द्रबहादुर गुरुङले मेमोग्राम सेवालार्इ निरन्तरता दिइने बताए । मेमोग्राम गर्नका लागि बिरामीले १ हजार २ सय रूपैयाँ तिर्नुपर्ने लेखाअधिकृत गुरूङले बताए ।

पछिल्लो समय महिलामा स्तन क्यान्सरको समस्या बढ्दै गएको पाइएपछि यसप्रति सचेत हुन धेरै महिलाले मेमोग्राम गराउने गरेका छन् । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापतिका अनुसार महिलामा देखिने क्यान्सरमध्ये पहिलो नम्बरमा पर्छ स्तन क्यान्सर ।

उमेर घर्केर बुढ्यौलीतिर लाग्दै जाँदा स्तन क्यान्सरको सम्भावना बढ्दै जाने उनले बताए । विभिन्न तथ्याङ्कअनुसार विश्वमा औसत ५० वर्ष उमेर नाघेका महिलामा स्तन क्यान्सरको समस्या बढी देखापर्ने गर्दछ ।

डा. प्रजापति भन्छन्– “कतिपय स्तन क्यान्सर वंशाणुगत कारणले पनि हुन सक्छ तर यो समस्या सबैमा हुन्छ भन्ने छैन । कुनै महिलालाई ढिलो महिनावारी सुरु भएर चाँडै सुक्ने गरेको छ भने पनि स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । ढिलो बच्चा जन्माएका महिला र बच्चा जन्माएर पनि स्तनपान नगराउने महिलालाई स्तन क्यान्सर हुने खतरा निकै बढी देखिएको छ ।”

लामो समयसम्म परिवार नियोजनको चक्की खाने, हर्मोनको प्रयोग गर्ने, अनावश्यक विकिरण (एक्सरे) को सम्पर्कमा आउने, बोसोयुक्त खाने कुरा ज्यादा खाने, धेरै मदिरा सेवन गर्ने र अति मोटा महिलामा पनि स्तन क्यान्सरको खतरा हुने चिकित्सकको भनाइ छ ।

Breast Cancer“स्तन क्यान्सर एक प्रकारको ट्युमर हाे, जुन महिलाको स्तनका कोषिका अस्वाभाविक वृद्धि भएर जान्छन्, उनलाई क्यान्सर रोग लाग्ने सम्भावना बढी हुन्छ”, नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ भन्छन्– “यसका कोषिका एकै ठाउँमा मात्र रहन सक्दैनन्, शरीरका अन्य तन्तुमा पनि सर्दै जाने गर्दछन्, यसलाई समयमै नष्ट गर्न नसकेमा पूरै शरीरभरि फैलन गई बिरामीको मृत्यु पनि हुन सक्छ ।”

नेपाल क्यान्सर सोसाइटीकाअनुसार युवती तथा प्रौढ महिलालाई हुने क्यान्सरमध्ये ६० प्रतिशत स्तन क्यान्सर हुन्छ । नेपालमा ३० देखि ५० वर्ष उमेर समूहका सहरी महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइन्छ । यसको यकिन तथ्याङ्क नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान छ ।

आजभोलि फेरिएको जीवनशैलीका कारण स्तन क्यान्सरका बिरामी बढ्दै गएको चिकित्सक बताउँछन् । स्तन क्यान्सर लागेको हो कि होइन भनी पत्ता लगाउन मेमोग्राफी (स्तनको मात्र एक्स–रे) गर्नु आवश्यक रहेको चिकित्सकहरू बताउँछन् । यस रोगबाट बच्न समयमै विवाह गर्नुपर्ने, समयमै बच्चा जन्माई स्तनपान गराउनुपर्ने, व्यायाम गर्नुपर्ने, मोटोपनबाट बच्नुपर्ने र खानपानमा ध्यान दिनुपर्ने डा. प्रजापतिको सुझाव छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर