newskoseli.Com

अबदेखि ताहाचलबाट रक्तसञ्चार सेवा : ‘रगत निर्धक्क दिऔं र लिऔं !’

नेपाल रेडक्रस सोसाइटीले ललितपुरस्थित ग्वार्काेमा रहेको अस्थायी रक्तसञ्चार सेवा केन्द्रलाई ताहाचलस्थित आफ्नै केन्द्रीय कार्यालयबाट सञ्चालन गर्ने भएको छ ।

यसका लागि अस्थायी प्रिफ्याब भवन निर्माण सुरु गर्न लागिएको र तीन महिनाभित्र भवन निर्माण सम्पन्न भइसक्ने सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले जानकारी दिए । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले भृकुटीमण्डमा रहेको सेवाकेन्द्रको भवनलाई पूर्ण क्षति पुर्याएपछि सोसाइटीले तत्काल सेवालाई अवरुद्ध हुन नदिन ग्वार्काेबाट सेवा प्रवाह गरेको थियो ।

स्वयंसेवी रक्तदाता एवम् रगतको खाँचो परी रगत लिन जानेहरुले सो स्थान अपायक भएको गुनासो व्यापक भएपछि गुनासोलाई ध्यानमा दिई केही समयका लागि स्थान सार्न लागिएको उनले बताए । अर्काेतर्फ भृकुटीमण्डपमा नै विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नयाँ भवन निर्माण गर्ने कार्य पनि सोसाइटीले एकै साथ अगाडि बढाएको छ ।

उपमहामन्त्री न्यौपानेले भने– “भवन निर्माणका लागि बोलपत्र आह्वान भई ठेकेदार छनोटको कार्य सम्पन्न भइसक्यो, छिटोभन्दा छिटो निर्माण कार्य अगाडि बढ्छ, रक्त सेवालाई चाहिने आधुनिक उपकरण, प्रयोगशाला पनि जडान हुन्छ ।”

विभिन्न दुर्घटना, प्रसूति, क्यान्सर, शल्यक्रिया गर्नुपर्ने रोगजस्ता बिरामीको सङ्ख्या बढ्दै जाँदा रगतको माग काठमाडौं, पोखरा, नेपालगञ्जलगायत प्रमुख सहरमा दिनप्रतिदिन बढ्दै गएको छ । केन्द्रका निर्देशक डा. मनिता राजकर्णीकारका अनुसार देशभर दैनिक रुपमा दुई हजार युनिट रगतको खोजी रक्तसञ्चार सेवाकेन्द्रमा मात्र हुने गर्दछ ।

हाल सोसाइटीअन्तर्गत आफ्ना ७२ जिल्लाका १ सय ५ स्थानबाट रक्तसञ्चार सेवा सञ्चालनमा छ । रगतको माग र आवश्यकतालाई पूरा गर्न केन्द्रलाई मुस्किल परिरहेको बताइन्छ । रक्तदान कार्यक्रम सुरुअात भएको पहिलो वर्ष २०२१ मा १ सय ५७ युनिट रगत सङ्कलन भएको थियो । गत वर्ष करिव ३ लाख ११ हजार युनिट रगत सङ्कलन भई रगत तथा रगततत्व वितरण भएको केन्द्रले जनाएको छ । २०२० भदौ १९ मा स्थापना भएको रेडक्रस सोसाइटीले २०२३ साउन १२ देखि रक्तदान कार्यक्रम सुरु गरेको थियो ।

सोसाईटीका पूर्वकेन्द्रीय सदस्य डा. गौरीशङ्करलाल दासका अनुसार चिकित्सक धनञ्जय रिमालले तत्कालीन राजा महेन्द्रको रगत झिकेर रक्तदान कार्यको विधिवत् सुरुवात गरेका थिए । पहिलो रक्तदाता परोपकार संस्थाका संस्थापक दयावीरसिंह कसांकार थिए । अर्काेतर्फ दैनिक रुपमा ७८ प्रतिशत स्वयमसेवी रक्तदाता र २२ प्रतिशत बिरामीका आफन्तबाट अर्थात् शोधभर्नाबाट सङ्कलन गर्नुपर्ने बाध्यता केन्द्रसँग छ ।

अर्काेतर्फ चिकित्सकले शल्यक्रियालगायत अन्य जटिल उपचार गर्नुपूर्व बिरामीका आफन्तलाई रगत जम्मा गर्न लगाउने तर सो रगत पूरै प्रयोगमा नआउँदा कति रगत मिति नाघेर खेर जान्छ भन्ने यकीन तथ्याङ्क कुनै निकायसँग छैन । कूल रक्तदातामध्ये ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला छन् । केन्द्रसँग रगतका तत्वअनुसार तीनदेखि सात दिनसम्म मात्र भण्डारण गर्ने क्षमता छ ।

‘निर्धक्क रगत दिऔं र लिऔं’

राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाले विश्व स्वास्थ्य सङ्गठनको ‘गाइड लाइन’ र यसले सिफारिस गरेका मापदण्ड अनुसार नै ‘र्यापिड’ र ‘इलाइज’ प्रविधिबाट नेपालमा रक्तपरीक्षण हुँदै आएको जनाएको छ । प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले भने– “रक्तदाताबाट प्राप्त रगतमा जीवाणु सङ्क्रमण हुने सम्भावना रहन्न, स्वच्छ व्यक्तिले निर्धक्क रुपमा रगत दान गर्दा केही हुँदैन ।”

हाल रक्तसञ्चार सेवा केन्द्रले रक्तदाताबाट प्राप्त रगत एचआर्इभी, हेपाटाइटिस बी र सी तथा सिफिलिस परीक्षण गरेर मात्र वितरण गर्ने गर्दछ । यसका साथै रगत समूह, बिरामीको रगतसँग क्रस म्याचिङ गरेर मात्र वितरण हुन्छ । निर्देशक डा. महतो भन्छन्– “एचआर्इभीको भाइरस पत्ता लगाउन सङ्क्रमण भएको दस दिन लाग्छ, ‘र्यापिड’ र ‘इलाइज’ प्रविधिबाट २१ दिन लाग्छ, रगतलाई सुरक्षित बनाउन हाम्रो ध्यान गएको छ ।”

प्रयोगशालाका चिकित्सक डा. राज्यश्री कुँवर ‘विन्डो परियड’ मा रगतबाट जीवाणु सङ्क्रमण हुने सम्भावना अति न्यून हुने जानकारी दिन्छन् । विश्वका वैज्ञानिकले हालसम्म मानव शरीरलाई आवश्यक पर्ने कृत्रिम रगत र तिनका प्रकार आविष्कार गर्न सकेका छैनन् । यसैले स्वच्छ व्यक्तिले दिने रगतले नै अर्काे बिरामी व्यक्तिले प्रयोग गरी नयाँ जीवन प्राप्त गर्दछ ।

अर्काेतर्फ रक्तदान गरेर दातालाई कुनै हानि हुँदैन । चिकित्सकका अनुसार रगतमा भएको रातो रक्तकण भरिइरहन्छ, त्यसको परिपूर्ति तीन महिनामा भइहाल्छ । मानिसको वजनको करिव आठ प्रतिशत रगत हुन्छ । औसत तौलको मानिसमा चार लिटर रगत हुन्छ । त्यसैले ३ सयदेखि ३ सय ५० मिलिलिटर रगत झिक्दा शरीरलाई केही हानि नपुग्ने चिकित्सक कुँवर बताउँछन् ।

पहिलो स्वास्थ्य नीति, २०४८ ले नेपाल रेडक्रस सोसाइटीलाई रक्तसञ्चारसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मेवारी प्रदान गरेको थियो । यही जिम्मेवारीअन्तर्गत केन्द्रले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअन्तर्गत रही रक्तदाताले दान गरेका रगत र तिनको तत्व सुरक्षित र गुणस्तरीय रुपमा बिरामीसम्म पुर्याइरहेको छ । रगत तथा रक्ततत्वलाई तापक्रमबाट खराब असर पर्न नदिन ‘ब्लड कोल्ड चेन’ प्रणालीलाई प्रभावकारी बनाइएको केन्द्रले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर