newskoseli.Com

१० वर्षीया बालिकामा ७ किलोको ट्युमर !

प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको पेटमा आठ महिनाको उमेरदेखि बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ ।

वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक सर्जन प्रा.डा. आरपी चौधरीको समूहले मङ्गलबार तीन घन्टा लगाएर शीलाको शल्यक्रिया गरेको हो । पेटमा पछाडिबाट पलाएको उक्त ट्युमरलाई चिकित्सकीय भाषामा रोट्रोपेरिटोनियल टेराटोमा भनिन्छ ।

सर्जन चौधरीका अनुसार अहिले बिरामीको अवस्था खतरामुक्त भए पनि विशेष हेरचाहको आवश्यकता छ । “पेटमा हुने ट्युमरमध्येको यस्तो खालको ट्युमर सय जनामध्ये २ जनामा मात्र हुन्छ, २५ किलो तौल भएकी उनको पेटमा ७ किलोको ट्युमर थियो, सो शल्यक्रिया जोखिमपूर्ण र जटिल थियो, अहिले उक्त मासुको जाँच गर्न पठाइएको छ, क्यान्सरको पनि जोखिम भएकाले मासुको रिपोर्टमा बाँकी उपचार निर्भर रहेको छ”– उनले भने ।

चिकित्सकका अनुसार ८ महिनाकै उमेरमा शीलाको शल्यक्रिया गर्न सकिन्थ्यो तर मासु बढेर ठूलो हुँदै जाँदा अन्य रोगको जोखिम बढ्ने र शल्यक्रिया पनि जोखिमपूर्ण रहेको थियो । हरेक वर्ष कान्ति बाल अस्पतालमा करिव ३० बालबालिकाको ट्युमरको शल्यक्रिया हुने भए पनि आफ्नो चिकित्सकीय अनुभवमा १० वर्षको बच्चाको ७ किलोको ट्युमरको शल्यक्रिया पहिलो पटक गरिएको डा. चौधरीले बताए ।

गर्भावस्थादेखि नै नियमित जाँच गराउन र कुनै समस्या देखिएमा तुरुन्तै उपचार गराउन सकेमा भविष्यमा ठूलो जोखिम नहुने डा. चौधरीको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर