newskoseli.Com

अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीका कारण बालकको मृत्यु !

जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीका कारण बिहीबार एक बालकको मृत्यु भएको छ । लापर्बाहीले धनुषाको मिथिला बिहारी गाउँपालिका– १०, ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको अस्पतालको मृत्यु भएको आफन्तको आरोप छ ।

बालकलाई एक्कासि ज्वरो आएपछि बुधबार बिहान ९ बजे उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले जाँच गरे पनि भर्नाका लागि शय्या खाली नभएको भन्दै फर्काएका थिए । तर, बालकलाई च्याप्दै लगेपछि बेलुका ६ बजे फेरि सोही अस्पतालको अाकस्मिक कक्षमा भर्ना गरेर उपचार थालिएको थियो ।

राति ९ बजे बालकको अवस्था नाजुक भएपछि नर्स नैनतारा साह र कविता चौधरीलाई बालकका बुबा कैलाशले पटक–पटक छोरालाई हेरदिनुस् भनेर गुहार गर्दा उल्टै हप्काएर फर्काएको प्रत्यक्षदर्शी अर्का बिरामीका कुरुवा जुमेदा खातुनले बताए । उनका अनुसार नर्सहरु मोबाइल चलाएर बसेका थिए । त्यसबेला काममा रहेका डा. वैद्यनाथ ठाकुर भने कोठामा आराम गरिरहेको नर्सले बताएका थिए ।

राति १२ बजे बालकको अवस्था चिन्ताजनक भएपछि नर्स नैनतारा साह आफैंले सुई लगाइदिएपछि बालकको अवस्था झनै चिन्ताजनक भएको बाबु कैलाशको आरोप छ । तर, नर्स साहले भने सम्बद्ध चिकित्सकलाई सोधेर नै आफूले सुई लगाएको बताएकी छन् ।

बिहीबार बिहान ३ बजे राजाको मृत्यु भएपछि आक्रोशित कैलाशले नर्सलाई लट्ठी प्रहार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर दुई घन्टापछि छाडेको छ । अस्पताल प्रशासनले भने आफूहरुको लगातारको प्रयासका बाबजुद पनि बालकको मृत्यु भएको जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर