newskoseli.Com

हेपाटाइटिस ‘सी’ को औषधि नेपालमै उत्पादन सुरू

हेपाटाइटिस ‘सी’ को औषधिको नेपालमै उत्पादन सुरु भएको छ । मुलकमै पहिलो पटक हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसविभिर’ औषधिको उत्पादन म्याग्नस फर्माले सुरु गरेको हो ।

म्याग्नसले हेपाटाइटिस ‘सी’ को औषधि १ साता अघिदेखि ‘सोफुभिर’ नामबाट बजारमा पठाउन थालेको जानकारी फर्माका बजार निर्देशक सुधीरप्रकाश मास्केले दिएका छन् । नेपालमा हेपाटाइटिस ‘सी’ का धेरै बिरामी रहे पनि औषधि महँगोमा विदेशबाट आयात गर्नु परेकाले स्वदेशमै उत्पादन थालिएको निर्देशक मास्केको भनाइ छ ।

बिरामीले आयातीत हेपाटाइटिस ‘सी’ का औषधि निकै महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपाली बजारमा एउटा ट्याब्लेटको मूल्य १ हजारदेखि १ हजार २ सय रूपैयाँसम्म पर्ने गरेको छ । एउटा बट्टामा २८ वटा ट्याब्लेट हुन्छन्, जसको मूल्य २८ हजारदेखि ३३ हजार रूपैयाँसम्म पर्छ ।

म्याग्नसले उत्पादन गरेको औषधि बिरामीले प्रतिट्याब्लेट ८ सय रूपैयाँमा पाउन सक्ने गरी बजारमा पठाएको छ, जसअनुसार एउटा बट्टालाई २२ हजार ४ सय रूपैयाँ पर्न जान्छ । मास्केले भने– “हामीले विश्वबजारमा बिक्री हुने गुणस्तरकै औषधि सस्तोमा उत्पादन गरेका छौं । भाइरसको संक्रमणबाट हुने यो रोग औषधिको प्रयोग गरे अनुसार १२ देखि ४८ हप्तामा निको हुन्छ ।”

ग्यास्ट्रो एन्ड हेपाटोलोजी कन्सल्ट्यान्ट फिजिसियन प्रा.डा. विधाननिधि पौडेलले हेपाटाइटिस सी भाइरसले कलेजोमा आक्रमण गर्ने बताउँदै केही हप्ता बिरामी पार्नुका साथै जीवनभरि कलेजोको समस्या वा कलेजो क्यान्सरसम्म गराउन सक्ने बताए ।

चिकित्सकका अनुसार नेपालमा यो भाइरसका कारण ८० हजारदेखि १ लाख मानिस संक्रमित भएको अनुमान छ । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले हेपटाइटिस सी भएका व्यक्तिको रगतको सम्पर्कमा आए यो रोग सर्ने र यो भाइरस कलेजोमा लाग्ने सबैभन्दा ‘कमन’ भाइरस भएको बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा करिव ७१ लाख मानिस हेपाटाइटिस सीको संक्रमणमा परेको अनुमान छ । यसैका कारण वर्षेनि करिव ३ लाखभन्दा बढीको ज्यान जाने गरेको छ । यो भाइरसले आक्रमण गर्नेबित्तिकै लक्षण नदेखिने भएकाले सुरुआतमै बिरामीले रोगबारे थाहा पाउँदैनन् । भाइरसको संक्रमण बढ्दै गएपछि ज्वरो आउने, थकाइ लाग्ने, खानामा रूचि नहुने, झाडापखाला चल्ने, छाला र आँखा पहेंलो हुनेजस्ता लक्षण देखिन थाल्ने डा. पौडेलले बताए । यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

यसको एक मात्र उपचार भनेकै औषधि सेवन हो । डब्लुएचओका अनुसार औषधि सेवन गरेमा ९५ प्रतिशत बिरामी निको हुन सक्छन् । जथाभावी फालिएका ‘सिरिन्ज’ नचलाउने, लागूऔषधको प्रयोग नगर्ने, असुरक्षित यौनसम्पर्कबाट टाढै रहने हो भने हेपाटाइटिस सीको संक्रमणबाट बच्न सकिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर