newskoseli.Com

‘अपरेटर’ को अभावमा एक्स–रे मेसिन प्रयोगविहीन, बिरामीलाई समस्या

जनशक्तिको अभावमा ५ महिनादेखि बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको एक्स–रे प्रयोगविहीन अवस्थामा थन्किएको छ । एक्स–रे मेसिन सञ्चालनमा नआउँदा बिरामी समस्यामा परेका छन् ।

पाटन प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट लोकेन्द्र ऐरका अनुसार एक्स–रे मेसिन जडान गरेकै दिनदेखि एक दिन पनि सञ्चालनमा आएको छैन । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमितलाई लक्षित गर्दै एक्स–रे मेसिन आएको भए पनि त्यत्तिकै थन्किएको हो । उनले भने– “एक्स–रे सञ्चालन गर्ने रेडियोग्राफर नहुँदा एक्स–रे मेसिन सञ्चालनमा आउन सकेको छैन, दरबन्दी छैन, अरु तालिमप्राप्त जनशक्ति छैन ।”

उता केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका लागि अाएकाे एक्स–रे मेसिन पनि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमै थन्किएको छ । एक्स–रे मेसिन आएको पत्र मात्रै प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेको र एक्स–रे अहिलेसम्म पाटनमै थन्किएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट मुकेश दयालले बताए । एक्स–रे सञ्चालन गर्ने जनशक्ति मेलौलीमा पनि छैन । उनले भने– “भएका एक्स–रे मेसिन समेत सञ्चालनमा नआउँदा सामान्य चोटपटक लागेको बिरामीले पनि जिल्ला अस्पताल, उपक्षेत्रीय अस्पताल डडेल्धुरा र सीमावर्ती भारतीय अस्पताल धाउनु परेको छ ।”

स्वास्थ्य बीमा कार्यक्रमले बैतडीको हकमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य बीमाअन्तर्गत एक्स–रे सेवा समेत राखिएको छ । तर, जनशक्तिकाे अभावमा सेवा सुरु हुन सकेको छैन । बैतडीमा २०७३ पुस ७ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर