newskoseli.Com

१२ दिनसम्म सुत्केरीको पाठेघरमै ‘प्याड’ !

धौलागिरि अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ । जैमिनी नगरपालिका– १, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार निकालिएको छ ।

प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरिएको ‘प्याड’ पाठेघरभित्रै छोडेर स्वास्थ्यकर्मीले टाँका लगाइदिएका थिए । स्वास्थ्यकर्मीको चरम लापरबाही र असावधानीका कारण थापामगर गम्भीर स्वास्थ्य समस्या झेल्न बाध्य भएकी छन् ।

साधारण प्रसूतिपछि पनि समस्या बल्झिँदै गएपछि अस्पतालमा जाँच गराउँदा पाठेघरमा ‘प्याड’ भेटिएको उनका श्रीमान् किरण थापाले बताए । “सुत्केरी हुँदाको घाउ निको होलाभन्दा झन् बल्झियो, पीडा पनि कम भएन” थापाले भने– “अहिले थाहा भयो, कारण यस्तो रहेछ ।”

सुरूमा चिकित्सकको परामर्शमा घाउ सुकाउन र दुखाइ कम गर्न औषधि समेत चलाइएको उनको भनाइ छ । योनीद्वारबाट पीपजस्तो गन्हाउने पानी बग्न थालेपछि परिवारले पुनः परीक्षणका लागि अञ्चल अस्पताल लगेका थिए ।

पछिल्लो समय थापामगरलाई पिसाब फेर्न समेत कठिन हुँदै गएको थियो । “समस्याबारे अरुलाई भन्दा सुत्केरी हुँदा सामान्य दुखाइ हुन्छ भन्थे”, सुत्केरी थापामगरले भनिन्– “सोच्दै नसोचेको कुरा भएको रहेछ, पाठेघरमा सडेको प्याडले इन्फेक्सन गराउँछ कि भन्ने डर छ ।”

स्वास्थ्यकर्मीले कमजोरी स्वीकार्नुको सट्टा उल्टो अभद्र व्यवहार गरेको उनको गुनासो छ । “सफा गरेपछि तत्कालै प्याड निकाल्नुपर्ने, अस्पतालको कति ठूलो लापरबाही !”, उनले भनिन् ।

अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले भने आफूलाई उक्त घटनाबारे केही थाहा नभएको प्रतिक्रिया दिए । प्रसूतिमा हुने रक्तस्राव रोक्न प्रयोग गरिने प्याड केही समयमै निकालिने उनको भनाइ छ । “घटनाबारे हामी बुझ्छौं, प्रसूतिमा संलग्न चिकित्सक र नर्ससँग जानकारी लिने काम हुन्छ” उनले भने ।

सुत्केरीका परिवारजन र आफन्तले अस्पतालको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन् । यस्ता घटनाले अस्पतालप्रतिको जनविश्वासमा ह्रास आउने जैमिनी नगरपालिका– ७, जैदीका विजय रानाले बताए । घटनाको जिम्मा लिँदै आगामी दिनमा गल्ती दोहोरिन नदिने प्रतिबद्धता अस्पतालले जनाउनुपर्ने उनको भनाइ छ ।

धौलागिरि अञ्चल अस्पताल जिल्लामै सबैभन्दा बढी संख्यामा प्रसूति गराउने स्वास्थ्य संस्था हो । यस अस्पतालमा शल्यक्रिया सेवामार्फत पनि प्रसूति गराउने गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर