‘…घर बग्यो बाढीमा, छोरो खाडीमा
फर्क्यो रातो बाकसैमा, बुहारी छिन् सेतो साडीमा…’
कामको खोजी र केही धन कमाएर परिवारलाई सुखका साथ राख्ने अभिलाषा बोकेर रुँदै घर अनि स्वदेश छोड्न बाध्य नेपालीहरुको संख्या दिनहुँ बढ्दै गएको छ ।
स्वदेशमा रहेको बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरतालगायतका कारण विदेशिन बाध्य नेपालीहरु लाखौंको संख्यामा छन् ।
परिवारको पालन–पोषण मात्रै गर्न समेत स्वदेशमा रोजगारीको अवसर नमिलेपछि युवाहरु खाडी मुलुकतिर भासिन बाध्य छन् । ठूलो आकांक्षा बोकेर परदेश जाने नेपालीहरुलाई कहाँ सुख छ र ! खाडीको उच्च तापक्रम, विदेशिएपछि परिवारको सम्झनालगायत अनेक कारणले परदेशमा रहेका युवाहरु अहोरात्र तड्पिइरहन्छन् ।
वैदेशिक रोजगारीका कारण धेरै नेपालीका घर, सपना उजाडिएका छन् । धेरैका श्रीमान्–श्रीमती, छोरा–छोरी अलग–थलग भएका छन् । सामाजिक विचलन तीव्र बन्दै गएको छ । हजारौं चेलीहरु विदेशी भूमिमा तड्पिइरहेका छन् ।
भविष्य बनाउने रहरमा आफ्नो अमूल्य शरीर दाउमा राखेका विदेशिएका दाजुभाइ–दिदीबहिनीहरु कति त बाकसमा भरिएर आउँछन् । यो दुःख एउटा व्यक्तिको मात्र नभएर समग्र देशकै हो ।
‘…छोरो गयो परदेश, सबको ऋण तिर्नलाई
बाध्य बूढा बाबा काँधमा हलो भिर्नलाई…’
देशको कपटपूर्ण राजनीतिक अवस्था र केही आफ्नै नितान्त व्यक्तिगत बाध्यताले घरदेश छाडी परदेशमा जाने नेपालीलाई वास्तवमै पछाडि फर्केर हेर्दा कहाली नै लाग्छ ।
‘…कसो गरी खालास् बाबै, टुहुरो नाती
देशमा हुन्छ दुईटै खेती– ठगी राजनीति…’
गीतका यी हरफहरु धेरै वर्ष विदेशिएर नेपाल फर्किएका सिद्धिचरण नगरपालिका, ज्यामिरे, ओखलढुंगा निवासी जितेन्द्र बानियाँका हुन् । यथार्थमै भोगिएको उनको यो गीतिभावनालाई समाचार लेख्ने एक पत्रकारको कलमले व्यक्त गर्न शायदै नसक्ला । तर पनि भावना बुझ्न गाह्रो भने छैन ।
परदेशमा बसेर उनले मनका भावनालाई कलमको साथ लिएर कापीमा उतारे । सिर्जनाका आहलहरुमा डुबुल्की मारेर आफूलाई उत्तम सर्जकको स्तरमा पुर्याउने मेलो पनि बसाले । जीवनका तीता–मिठा भोगाइहरुलाई मनमा गुम्स्याएर राख्ने स्वभाव नभएका जितेन्द्रको साहित्यिक मन छ । मानसपटलमा रहेका उकुसमुकुस भावना र अनेकौं बोझहरुलाई कामको चापमा रहँदा पनि उनी गीत, कविता, मुक्त्तक, गजललगायतका साहित्यिक विधामा ढाल्दिईहाल्छन् ।
‘…दसैं मान्न आउँछु भन्थ्यो, यसैपालिमा
फर्क्यो रातो बाकसैमा, बुहारी छिन् सेतो साडीमा…’
विशेष गरी गजलका साथै मुक्त्तक विधामा कलम चलाउने जितेन्द्रका केही गीत रेकर्ड पनि भएका छन् । उल्लेखित शब्दहरू संयोजित गीत पछिल्लो चरणमा धेरै चर्चामा छ । सागरसंसार राईले गाएको उक्त गीतलाई विनोद बस्नेतले संगीतबद्ध गरेका हुन् । झन्डै दुई सयको हाराहारीमा गीत, कविता, गजल लेखिसकेका उनी अब भने आफ्नो सिर्जनालाई संग्रहित गर्न थालेको बताउँछन् ।
धेरै वर्ष कोरिया बसेर नेपाल फ़र्किएका जितेन्द्र अहिले समृद्ध नेपाल बनाउने अभियानअन्तर्गत कृषि व्यवसायमा जुटिरहेका छन् । नेपालमै पनि सम्भावना छ, केही गर्न सकिन्छ भन्ने भावना बोकेका उनी ‘लिखु एग्रिकल्चर नेपाल’ नामक कम्पनीमार्फत कृषिकर्ममा जुटेका हुन् ।
आफ्ना सबै विधाका सिर्जनाको वाचनमा समेत दख्खल राख्ने जितेन्द्र पर्दा पछाडिका राम्रो सर्जक भएको बताउँछन् उनलाई नजिकबाट जान्ने गायक–संगीतकार प्रलाप रार्इ ।
अब नेपालमै रहेर रोजगारीको सिर्जना गर्दै सरकारको अभियानलाई सहयोग गर्ने जितेन्द्रको भनाइ छ । नेपालमै रहेर काम गर्ने वातावरण बनाउनुका साथै वास्तविक नेपाल बनाउन समेत विदेशिने नेपाली दाजुभाइ–दिदीबहिनीहरुसँग उनको आग्रह छ ।