newskoseli.Com

गर्भपतन : कस्तो छ आँकडा ? ७७ जिल्लामध्ये कहाँ हुन्छ सबैभन्दा बढी ?

नेपालका ७७ जिल्लामध्ये सबैभन्दा बढी गर्भपतन कहाँ हुन्छ होला ? हालै सार्वजनिक भएको एक अध्ययन–प्रतिवेदनले सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा कास्की जिल्लालाई देखाएको छ ।

विभिन्न सङ्घ–संस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने प्रदेशका रुपमा देखाएको छ । त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी गर्भपतन कास्कीमा हुने गरेको तथ्याङ्कले देखाएको छ ।

परिवार नियोजन सङ्घ कास्कीका प्रमुख सन्तोष अधिकारीका अनुसार कास्कीमा मात्रै गर्भपतन गर्ने ४० वटा स्वास्थ्य संस्था छन् । गर्भपतन गर्नेहरूमा बढी मात्रामा सहरका महिला हुने गरेको उनको भनाइ छ ।

‘कास्कीको बजार क्षेत्रका मात्रै ८३ प्रतिशतभन्दा बढी ‘सेवाग्राही’ छन्, बाँकी मात्रै गाउँका महिला छन्’– उनले भने । प्रदेशकै राजधानी र अन्य ठाउँभन्दा विशेषज्ञ सुविधा पाइने भएकाले धेरै महिलाहरू गर्भपतन गर्न कास्की आउने गरेको उनी बताउँछन् ।

कास्कीमा असुरक्षित गर्भपतनको समस्या समेत बढिरहेको अधिकारी बताउँछन् । ‘गर्भपतन गराउनेमध्ये ११ प्रतिशत त २० वर्षमुनिका किशोरी नै हुने तथ्य फेला परेको छ’– उनले भने । त्यस्ता किशोरीहरुले प्रायः गैरकानुनी स्वास्थ्य केन्द्रमा गएर गर्भपतन गर्ने गरेको पाइएको छ ।

गर्भपतन गर्नेहरुमध्ये अधिकांश विवाहित महिलाहरू नै रहेका छन् । परिवार नियोजनको साधन प्रयोगबारे जानकारी नलिने र प्रयोग गर्न नखोज्ने कारणले महिलाहरु गर्भपतनको जोखिम व्यहोर्न बाध्य भएको अधिकारीको भनाइ छ । उनी भन्छन्– ‘परिवार नियोजनका साधनको प्रयोगबारे राम्रोसँग जानकारी लिन सक्ने हो भने गर्भपतन कम गराउन सकिन्छ’– अधिकारीले भने ।

छोराको आशमा छोरीको भ्रुणहत्या गर्नेहरुका कारणले पनि गर्भपतन गराउनेहरुको संख्या बढ्ने गरेको उनको भनाइ छ । गर्भपतनको संख्या घटाउनका लागि महिला स्वयंले आफ्नो प्रजनन स्वास्थ्य अधिकारका बारेमा सचेत हुँदै परिवार नियोजनका साधनमा जोड दिनुपर्ने उनको सुझाव रहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर