newskoseli.Com

१ महिनामा ९ जनामा भेटियो डेङ्गुको संक्रमण !

सामान्य बिरामी भएर उपचारका लागि महाकाली अञ्चल अस्पताल आएका ९ जना बिरामीमा डेङ्गुको संक्रमण देखिएको छ ।

भीमदत्तनगरस्थित यस अस्पतालमा एक महिनामा एक महिलासहित ९ पुरुषमा डेङ्गु रोगको संक्रमण देखिएको अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले जानकारी दिए । ‘सामान्य अवस्थामा रुघा, ज्वरो लागेर आएका ९ जनालाई डेङ्गु रोग लागेको परीक्षणका क्रममा भेटियो,’ सूचना अधिकृत अवस्थीले भने– ‘डेङ्गु देखिएका सबै बिरामीलाई अस्पतालमै उपचार गरिएको छ ।’

असोजको तेस्रो सातायता बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको अवस्थीको भनाइ छ । डेङ्गु देखिएका अधिकांश बिरामी भीमदत्त नगरपालिकाकै हुन् । ‘गत वर्ष पनि ४–५ जनामा यो रोग देखिएको थियो,’ अवस्थीले भने– ‘यस पटक यसको संक्रमण बढीमा देखियो ।’

छिमेकी मुलुक भारतका विभिन्न सहरमा डेङ्गुको प्रकोप देखिएकाले त्यता रोजगारी गरी फर्किएका स्थानीयवासीलाई डेङ्गु देखिएको बताइएको छ । लामखुट्टेको टोकाइबाट डेङ्गु लाग्नुका साथै सङ्क्रमण फैलिने खतरा हुने भएकाले त्यसमा सचेतता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।

पश्चिमी नाका गड्डाचौकीमा स्थापना गरिएको ‘हेल्थ डेस्क’ मा मलेरिया, क्षयरोगलगायतको परीक्षण हुने गरेको छ । अरू परीक्षण भए पनि सीमामा डेङ्गुको जाँच गर्ने सुविधा नरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

डेङ्गु रोग पत्ता लगाउने ‘टेस्ट किट’ महँगो पर्नुका साथै त्यसको अभावले सीमा क्षेत्रमा सञ्चालनमा आएको डेस्कमा जाँच असम्भव रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । गड्डाचौकीमा तीन वर्षदेखि हेल्थ डेस्क सञ्चालनमा रहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर