newskoseli.Com

वीर अस्पतालमा छुट्टै अत्याधुनिक शल्यक्रिया भवन

नेपालको जेठो र पुरानो वीर अस्पतालले अबको दुई वर्षभित्रै छुट्टै अत्याधुनिक शल्यक्रिया भवन तयार पारिसक्ने भएको छ ।

९ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी चिकित्सा विज्ञानका १५ वटा शल्यक्रिया कक्ष (अपरेसन थियटर) बनइने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालका भौतिक पूर्वाधार विस्तारलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च प्राथमितामा राखेको छ । अहिले भवनको निर्माण एवम् आवश्यक उपकरण आयात गर्ने कार्य एकैसाथ अगाडि बढेको छ ।

भवनभित्र पोस्ट अपरेटिभ, ४० शय्याको सर्जिकल, अति सघन कक्ष र पुस्तकालय रहनेछन् । सोही भवनमा ज्येष्ठ नागरिक तथा अपांग एवं बिरामी कुरुवामैत्री भवन समेत बन्ने न्याम्सले जनाएको छ । नेपाल सरकारको ३ अर्ब ८५ करोड रूपैयाँको लागतमा सो भवन २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

न्याम्स अन्तर्गत नर्सिङ कलेजको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको पुरानो भवन–संरचना भत्काएर सोही स्थानमा नयाँ शल्यक्रिया भवन निर्माण गर्न लागिएको हो । २०७४ फागुन २५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सो भवनको शिलान्यास गर्दै निर्धारित समयभित्र भवन निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।

त्यतिबेला प्रधानमन्त्रीले भनेका थिए– ‘अब स्वदेशभित्रकै अस्पतालबाट सबै रोगको सर्वसुलभ उपचार हुन्छ । यस कार्यलाई सरकारले उच्च प्राथमिता दिएको छ । स्वास्थ्य क्षेत्रका चिकित्सक, जनशक्ति, औषधि तथा भौतिक पूर्वाधार तयार गर्न रकमको अभाव हुने छैन ।’

वि.सं. १९४७ मा १५ शय्याबाट सेवा दिन सुरु गरेको वीर अस्पतालको हालको क्षमता ४ सय ५० शय्या छ । न्याम्समा चिकित्सा विज्ञानका नर्सिङ, एमबीबीएस, एमडीलगायत विभिन्न तहमा उच्च शिक्षा पठनपाठन तथा तालिमका कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन् ।

नाम्सको कुलपति पद खालि भएको ५ महिना बितिसकेको छ । एक कर्मचारीका अनुसार अहिले कुलपति नहुँदा दैनिक कार्य सञ्चालनमा समेत अप्ठ्यो परिरहेको छ । विभिन्न प्रतिष्ठानमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि मन्त्रीसमक्ष सिफारिस भैसकेकाले छिटै पदपूर्ति हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सुशीलनाथ प्याकुरेल बताउँछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर