डोटीमा ७० प्रतिशतभन्दा बढी मोतियाबिन्दुका बिरामी रहेको पाइएको छ ।
गेटा आँखा अस्पताल, कैलालीको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय डोटीको सहयोगमा भएको निःशुल्क आँखा शिविरमा जटिलखालको मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया गरिएको आँखा रोग विशेषज्ञ डा. अर्जुन श्रेष्ठले बताए ।
जिल्लाको लाटामाण्डौ गाविसको गोपघाटमा भएको आँखा शिविरमा ५ सय ५० जनाले सेवा लिएका थिए । जसमा ९३ जनाले सल्यक्रिया गरेका छन् । त्यसैगरी दुर्गामाण्डौ गाविसको वायलमा ४०० जनाले आँखा जँचाएकामा ६९ जनाले सल्यक्रिया गरेका छन् । चवराचौतारामा ३ सय ८८ जनाले आँखा जँचाएकामा ४७ जनाले सल्यक्रिया गरेको क्याम्प इन्चार्ज मेघराज भट्टले जानकारि दिए ।
त्यसैगरी गत शुक्रबारदेखि जिल्ला अस्पताल डोटीमा भएको शिविरमा ४ सय ९२ जनाले आँखा जाँच गराएका छन् । जसमा १ सय ६० जनाको सल्यक्रिया भएको छ । डोटीका तीन गाविस र नगरपालिकामा गरेको आँखा शिविरमा डोटीमा मोतियाबिन्दुको प्रकोप बढेको पाइएको छ । यस्तै तवरले आँखाका बिरामी बढ्दै गएमा समस्या निम्तने शिविरमा संलग्न चिकित्सकले बताएका छन् । रासस