newskoseli.Com

‘हार्ट एट्याक’ को जोखिम दक्षिण एसियालीलाई धेरै !

आफूलाई हृदयाघात होला भनेर महेन्द्र अग्रवालले सोचेकै थिएनन् । उनी साकाहारी थिए । नियमित ब्यायाम गर्थे । र, उनको शरीर पनि दुब्लै थियो । रक्तचाप र कोलेस्टेरोल पनि सामान्य नै थियो ।

तर, सास फेर्न गाह्रो भएपछि ६३ वर्षीय अग्रवाल जुन, २०१३ मा अस्पताल गए । स्वास्थ्य परीक्षण गर्दा मुटुमा रगत प्रवाह गर्ने दुईवटा धमनी बन्द भएको पाइयो । खोल्नलाई थुप्रै ‘स्टेन्ट’ राख्नुपर्ने भयो । ‘मैले एकदमै सक्रिय जीवन बिताइरहेको छु र मेरो आहारा पनि स्वस्थ छ,’सान होजेमा बस्ने अग्रवालले बताए– ‘मलाई यस्तो किन भयो भनेर छक्क परेको छु ।’

आहारा र जीवनशैली स्वस्थ भए पनि अग्रवाल एउटा कारणले हृदयाघातको उच्च जोखिममा थिए, त्यो हो– उनको दक्षिण एसियाली वंशज । अमेरिकामा वयस्कहरूको मृत्युको मुख्य कारण नै हृदयाघात हो र यहाँ अन्य समुदायमा भन्दा दक्षिण एसियालीहरूमा हृदयरोगको खतरा उच्च छ ।

अमेरिकामा सबैभन्दा तीव्र वृद्धि भइरहेको दोस्रो जातीय समूह पनि दक्षिण एसियाली नै हो । अमेरिकामा अन्यत्रबाट आएकाभन्दा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सलगायतका दक्षिण एसियाली मूलबाट आएकाहरूलाई हृदयरोग हुने जोखिम चार गुणा धेरै छ । अरुलाई औसत जुन उमेरमा मुटुरोगले सताउँछ, उनीहरूलाई त्योभन्दा दस वर्षअघि नै त्यस रोगले सताउँछ ।

स्ट्यान्फोर्ड साउथ एसियन ट्रान्सलेसनल हार्ट इनिसियटिभकी हृदयरोग विशेषज्ञ डा. आभा खन्डेलवाल भन्छिन्– ‘अमेरिकामा हरेक दक्षिण एसियालीको परिवार वा नाता–सम्बन्धभित्र कोही न कोही हृदयाघातको शिकार भएकै हुन्छ ।’

दक्षिण एसियालीहरू हृदयरोगको उच्च जोखिममा रहेको हेक्का मुटु रोग विज्ञहरूलाई पहिले थिएन । यस बारेमा एक दशकअघि मात्रै चर्चा हुन थालेको हो । युनिभर्सिटी अफ क्यालिफोर्निया, सन्फ्रान्सिस्को र नर्थवेस्टर्न युनिभर्सिटीका अनुसन्धाताहरूले विगत सात वर्षदेखि यसबारे अध्ययन गरिरहेका छन् ।

उनीहरूले आफ्नो अध्ययनलाई ‘मसला’ को संज्ञा दिएका छन् । ‘मसला’ अर्थात्, मेडियटर्स अफ एथिरोसक्लेरोसिस इन साउथ एसियन्स लिभिङ इन अमेरिका । यो अध्ययनका क्रममा दक्षिण एसियालीलाई अन्यलाई भन्दा कम तौलमै उच्च रक्तचाप, उच्च ट्राइग्लिसराइड, असामान्य कोलेस्टेरोल र टाइप टु मधुमेह हुने देखिएको छ । दक्षिण एसियाली पुरूषमा अरुमा भन्दा कोरोनरी आर्टरी क्याल्सियमको मात्रा उच्च हुने सम्भावना हुन्छ । यसले हृदयाघात र मस्तिष्काघातको जोखिम बढाउँछ ।

हृदयरोगका कारण धेरै साथीभाइ र नातेदारहरूले अल्पायुमै ज्यान गुमाएको देखेपछि मुम्बईमा जन्मिएकी र क्यालिफोर्नियामा हुर्किएकी डा. अल्का कनायाले मसला परियोजना सुरू गरेकी हुन् । उनी भन्छिन्– ‘विश्वमा कूल जनसंख्याको २०–२५ प्रतिशत दक्षिण एसियाली छन्, र यत्रो विशाल जनसंख्यामा यो प्रमुख जनस्वास्थ्य समस्या हो ।’

दुई महिनाअघि मात्रै अमेरिकन हार्ट एसोसिएसन र अन्य मेडिकल समूहले कोलेस्टेरोल सम्बन्धि नयाँ निर्देशिका जारी गरेका छन्, जसले ‘मसला’ अनुसन्धाताहरूको अध्ययनकै आधारमा दक्षिण एसियालीलाई ‘हृदयरोगको उच्च जोखिममा पर्ने समूह’ मा राखेको छ ।

‘मसला’ अध्ययनबाट शारीरिक संरचनाबारे केही चाखलाग्दा निष्कर्षहरू पनि निस्किए । डा. कनाया र उनका सहकर्मीहरूले सिटी स्क्यान प्रयोग गरेर कलेजो, पेट र मांशपेसीजस्ता बोसो नजम्नुपर्ने स्थानमा बोसो भण्डार गर्ने सम्भावना दक्षिण एसियालीहरूमा धेरै रहेको पत्ता लगाए । छालामुनि जम्मा हुने सबक्युटेनस बोसोभन्दा यी क्षेत्रमा जम्मा हुने बोसोले उच्च ‘मेटाबोलिक’ क्षति पुर्‍याउँछ । यसलाई भिसेरल वा एक्टोपिक बोसो भनिन्छ ।

दक्षिण एसियालीमा मोटोपनको सम्भावना गोराभन्दा थोरै भए पनि टाइप टु मधुमेहको जोखिम दोब्बर हुन्छ । यसले हृदयाघात र मस्तिष्काघातको जोखिम बढाउँछ । ‘मसला’ अनुसन्धाताहरूले दक्षिण एसियालीमा हृदयरोगको जोखिम अत्यधिक भएको पत्ता लगाएका छन् । एन्नल्स अफ इन्टर्नल मेडिसिन नामक पछिल्लो अध्ययन अनुसार, सामान्य शारीरिक तौल भएका ४४ प्रतिशत दक्षिण एसियालीहरूमा उच्च ब्लड सुगर, उच्च ट्राइग्लिसराइड, रक्तचाप वा न्युन एचडीएल कोलेस्टेरोलजस्ता दुई वा बढी प्रकारका मेटाबोलिक समस्या भएको अनुसन्धाताहरूले पत्ता लगाएका छन् । सामान्य तौल भएका २१ प्रतिशत श्वेतमा मात्रै यस्तो समस्या देखिएको छ ।

मधुमेह परीक्षण गर्न बडी मास इन्डेक्सको मानक २५ वा माथि हुनुपर्ने मापदण्ड उपयुक्त नभएको पनि मसाला अनुसन्धाताहरूले पत्ता लगाएका छन् । यसो हुँदा चिकित्सकहरूले रोगबाट पीडित एकतिहाइ दक्षिण एसियाली पहिचान गर्न सक्ने छैनन् । ‘तीमध्ये धेरै त्यो बीएमआइसम्म कहिले नपुग्न सक्छन् तर उनीहरूलाई वर्षौंदेखि मधुमेह भएको हुनसक्छ’– डा. कनायाले भनिन् ।

निष्कर्षले अमेरिकन डायबिटिज एसोसिएसनलाई संशोधित निर्देशिका जारी गर्न सहयोग पुर्‍यायो । सन् २०१५ मा एशोसिएसनले एसियाली मूलका अमेरिकीलाई मधुमेह भए–नभएको परिक्षण गर्न बिमिआर्इको मानक २३ मा झार्‍यो । नेसनल काउन्सिल अफ एसियन प्यासिफिक आइल्यान्डर फिजिसियन्सले गरेको स्क्रिन एट ट्वेन्टीथ्री नामक सचेतनामूलक अभियानले मुद्दाप्रति ध्यानाकर्षण गराएको छ । एसियाली–अमेरिकीहरूको स्वास्थ्य परीक्षण प्रवर्द्धन गर्न क्यालिफोर्निया, म्यासाच्युसेट्स र हवाईलगायत कम्तिमा तीन राज्यले नीतिहरू पनि कार्यान्वयन गरेको छ ।

वासिङ्टनकी प्रतिनिधि प्रमिला जयपालले दक्षिण एसियालीहरूमाझ मुटुको स्वास्थ्य सम्बन्धि सचेतना र अनुसन्धानमा थप लगानी गर्न भर्खरै एउटा विधेयक ल्याएकी छिन् । प्रमिला जयपाल अमेरिकी सदनमा सेवा गर्ने भारतीय मूलकी प्रथम अमेरिकी महिला हुन् ।

‘मसला’ अध्ययनका अधिकांश सहभागी पहिलो पुस्ताका आप्रवासी हुन् । उनीहरूको सांस्कृतिक अभ्यासले पनि रोगको दरमा प्रभाव पार्ने अनुसन्धाताहरूले पत्ता लगाएका छन् । मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम दुई समूहमा अत्यधिक रहेको देखिएको छ । पहिलो – परम्परागत दक्षिण एसियाली धार्मिक, सांस्कृतिक र आहार परम्परासँग एकदमै नजिकको सम्बन्ध भएकाहरू र दोस्रो– पश्चिमा जीवनशैलीलाई सक्रियतापूर्वक अपनाउनेहरू ।

न्यून जोखिम भएकाहरूलाई अनुसन्धाताहरूले बाइकल्चरल बताएका छन् । परम्परागत दक्षिण एसियाली संस्कृतिको केही पक्ष कायम राख्नुका साथै उनीहरूले केही स्वस्थ पश्चिमा आनीबानी पनि अनुसरण गरेका छन् । यो भिन्नता उनीहरूको आहारसम्बन्धी व्यवहारमा देखिन्छ ।

‘मसला’ अनुसन्धानमा सहभागी झन्डै ४० प्रतिशत साकाहारी हुन् । यो भारतको साझा अभ्यास हो । पश्चिमाहरू यसलाई स्वस्थ मुटुको मूल कारण मान्छन् । तर तारेको, गुलियो पेय पदार्थ र बोसो धेरै भएको दुग्ध उत्पादनजस्ता परम्परागत दक्षिण एसियाली परिकार खाने साकाहारीहरूलाई मुटु तथा श्वासप्रश्वास सम्बन्धी धेरै समस्या हुने अनुसन्धानमा देखिएको छ । उनीहरूको तुलनामा धेरै फलफुल, तरकारी, बदाम, गेडागुडी र अन्न खानेहरू (र, मांसाहारीका लागि माछा र कुखुराको मासु) बढी स्वस्थ हुन्छन् ।

पश्चिमा शैलीको आहारसँगै रातो र प्रशोधित मासु, मदिरा, रिफाइन्ड कार्बोहाइड्रेट, केही फलफुल र तरकारी खानेहरूमा पनि धेरै ‘मेटाबोलिक’ जोखिम देखिएको छ ।

नर्थवेस्टर्नकी ‘मसला’ अनुसन्धाता डा. नम्रता कन्डुलाले अब मसाला सहभागीहरूको सन्तानको अध्ययन गर्ने आशा गरेको बताइन् । उनीहरूले आमा–बाबुको स्वास्थ्य र जीवनशैलीसम्बन्धी व्यवहारमा प्रभाव पार्दछन् भने दोस्रो पुस्ताका दक्षिण एसियालीमा स्वास्थ्य सम्बन्धी समान जोखिम भए–नभएको अनुसन्धाताहरू बुझ्न चाहन्छन् ।

तर, अहिलेका लागि, स्वास्थ्यसम्बन्धी उच्च जोखिममा भएका र स्वास्थ्यलाई बेवास्ता गरिरहेका दक्षिण एसियालीसम्म पहुँच बढाउनु नै प्राथमिक उद्देश्य भएको केही विज्ञहरू बताउँछन् ।

न्युयोर्क टाइम्सबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर