newskoseli.Com

एचआईभी/एड्स निको भएको विश्वकै दोस्रो घटना : लण्डनका यी व्यक्ति भए एड्समुक्त !

एक बेलायती नागरिक एचआईभी/एड्सको भाइरसमुक्त भएको तथ्य डाक्टरहरुले सार्वजनिक गरेका छन् । ती व्यक्ति एड्समुक्त हुने विश्वकै दोस्रो व्यक्ति हुन सक्ने समेत उनीहरुले बताएका छन् ।

रोयटर्सका अनुसार परिचय सार्वजनिक नगरिएका लण्डनका ती व्यक्ति तीन वर्षदेखि भाइरसमुक्त छन् । तीन वर्षअघि उनलाई बोनम्यारो प्रत्यारोपण गरिएको थियो । उनले प्राप्त गरेको बोनम्यारो एचआईभी प्रतिरोधी जेनेटिक म्युटेसनयुक्त थियो ।

डाक्टरहरुका अनुसार ती व्यक्तिले १८ महिनादेखि एन्टीभाइरल औषधि लिन छाडेका छन् । ‘मापन गर्दा उनको रगतमा हामीले कुनै पनि भाइरस भेटेनौं’– उपचारमा संलग्न समूहका सहनेतृत्वकर्ता रवीन्द्र गुप्ताले भने । ‘लण्डन प्यासेन्ट’ नाम दिइएका ती व्यक्ति यस्तो उपचार सेवा लिने पनि दोस्रो बिरामी हुन् ।

यसअघि जर्मनीमा बसोवास गर्ने अमेरिकी नागरिक टिमोथी रे ब्राउनले पनि यस्तै उपचार विधि अपनाएका थिए । सन् २००७ मा यो उपचार गराएका टिमोथी हालसम्म एचआईभीमुक्त रहेको जनाइएको छ । उनलाई ‘बर्लिन प्यासेन्ट’ भनिन्छ ।

‘लण्डन प्यासेन्ट’ सैन्द्धान्तिक रुपमा ठीक भएका भए तापनि आधिकारिक रुपमा भने अहिले नै पूरै निको भएको भन्नु हतार हुने गुप्ताले बताए । ‘लण्डन प्यासेन्ट’ लाई सन् २०१६ मा बोनम्यारो प्रत्यारोपण गरिएको थियो । विरलै हुने ‘हड्गकिन्स लिम्फोमा’ नामक रक्तक्यान्सर लागेपछि उनलाई उक्त अंग प्रत्यारोपण गरिएको थियो ।

उनका बोनम्यारो दातामा सीसीआर ५ डेल्टा २ नामक जेनेटिक म्युटेसन थियो । यो म्युटेसन एचआईभी संक्रमण प्रतिरोधी हुन्छ । बोनम्यारो दिएपछि ती प्रापकलाई दाताको रोग प्रतिरोधात्मक कोषिकाले आक्रमण गर्ने जटिलता देखा परेको थियो । उनी अघिका ‘बर्लिन प्यासेन्ट’ भनिने ब्राउनमा पनि प्रत्यारोपणपछि यही जटिलता देखिएको थियो ।

यी दुवै विरामीमा एचआईभी निदान हुनुको कारण निर्धारण गर्न डाक्टरहरु प्रयासरत छन् । यस विधिको जटिलतालाई हेरेर यो विधि आम रुपमा प्रयोग गर्न सम्भव नहुन सक्ने विज्ञहरुले बताएका छन् । यसको लागि एचआईभी प्रतिरोधात्मक जेनेटिक म्युटेसन भएका दातामा अंग मिल्नुपने अर्को अप्ठ्यारो हो ।

पछिल्ला वर्षहरुमा एन्टीभाइरल ड्रग्समा भएको विकासले एचआईभी लागेका व्यक्तिहरुको औसत जीवन निक्कै बढेको छ । हाल विश्वभरका लगभग ३.७ करोड मानिसहरु एचआईभी संक्रमित छन् । यस अतिरिक्त ३.५ करोड मानिसहरु एड्स र यससँग सम्बन्धित रोगबाट मरिसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर