newskoseli.Com

बिहे गर्ने उमेर नहुँदै गर्भपतन : परिवार नियोजनभन्दा गर्भपतन गराउने धेरै !

फाइल तस्बिर

बिहे गर्ने उमेर नहुँदै गर्भपतन गराउने किशोरीहरुको संख्या बढ्दै गएको छ । नेपालको कानुनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर, बिहे गर्ने उमेरअगावै गर्भपतन गराउने किशोरीहरुको संख्या बढ्दै गएको पाइन्छ ।

गर्भपतन गराउनेमा विवाहिता मात्रै नभएर अविवाहिता पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्माले बताइन् । महिनामा ४० देखि ६० जनासम्म गर्भपतनका लागि आउने गरेको उनले बताइन् । अनमी शर्माले भनिन्– ‘१३ देखि २० वर्षभित्रका अविवाहिता किशोरीहरु समेत गर्भपतन गराउनका लागि आउने गरेका छन् ।’

श्रीमान् वैदेशिक रोजगारीमा भएका महिलाहरु गर्भपतनका लागि बढी आउने गरेको शर्माको भनाइ छ । जिल्लामा असुरक्षित रुपमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा. अमृत पोख्रेलले बताए । १२ हप्तासम्मको गर्भपतन गराउन पाइने कानुनी मान्यता रहे पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउने क्रम बढेको बताउँदै बाहिर असुरक्षित ठाउँमा गर्भपतन गराउने अनि रक्तश्रावको समस्या भएपछि अन्तिम अवस्थामा आफूहरुकहाँ आउने गर्दा रगतको कमीलगायत अन्य विभिन्न प्रकारका समस्या हुने गरेको उनको भनाइ छ ।

परिवार नियोजनका अस्थायी साधनको प्रयोगकर्ताभन्दा गर्भपतन गराउन आउनेको सङ्ख्या बढी भएको बताउँदै विद्यालय र क्याम्पसहरुमा यससम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अत्यावश्यक रहेको धारणा उनले व्यक्त गरे । जिल्लामा गर्भपतन गराउने १९ संस्था सूचीकृत छन् । चालू आर्थिक वर्षमा ८ सय ८४ जनाले गर्भपतन गराएका छन्, जसमध्ये वालिङमा रहेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ३ सय २७ जनाले ‘सेवा’ लिएकामा ३६ जना २० वर्षभन्दा मुनिका र २ सय ९१ जना २० वर्षभन्दा माथिका रहेको सो केन्द्रले जनाएको छ ।

अधिकांश किशोरीहरुले क्लिनिकमा पाइने ‘गर्भ नरहने औषधि’ समेत प्रयोग गर्ने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराईले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर