मानिसहरुले हाई काढेको हामीले धेरै पटक देखेका छौं । धेरै काम गरेर थाकेका मानिसहरुले प्रायः हाई काढ्ने गरेको पाइन्छ ।
कतिपयले भने हाई काढ्ने मानिसलाई अल्छीको संज्ञा दिने गरेका छन् । कोहीकोहीले कामै नगरी हाई काढ्ने गरेको देख्न पाइन्छ भने अनिँदा व्यक्तिहरुले पनि हाई काढ्ने गरेको पाइन्छ ।
विशेषतः थकाई लागेका व्यक्तिहरुले हाई काढ्ने गर्छन् भन्ने सुन्न पाइन्छ । यसरी हाई काढ्ने मानिसलाई कतिपयले नराम्रो दृष्टिले हेर्ने वा अल्छी भन्ने गरेको पाइए पनि हाई काढ्नु आफैंमा नराम्रो भने होइन । एक अध्ययनले हाई काढ्नु राम्रो बानी हो भन्ने देखाएको छ ।
प्रिन्सटन विश्वविद्यालयका वैज्ञानिकहरुले केही समय पहिले गरेको एक अनुसन्धानमा के पाइएको थियो भने हाई काढ्नाले मस्तिष्कमा शितलता पुग्दछ । मज्जाले हाई काढिएमा त्यसले मस्तिष्कको तपक्रम नियन्त्रण गर्दछ । जसले दिमागी भारलाई कम गर्दछ ।
अनुसन्धाताहरुले के पनि बताएका छन् भने जाडो याममा जति व्यक्तिले हाई काढ्ने गर्दछन्, गर्मीमा त्यो संख्या एक चौथाइमा झर्ने गर्दछ । यसैलाई आधार बनाएर वैज्ञानिकहरुले हाई काढ्दा मस्तिष्कमा शितलता पाइने निष्कर्ष निकालेका हुन् ।
यसलाई नै आधार बनाएर वैज्ञानिकहरुले जाडो यामको तुलनामा मस्तिष्कलाई ठन्डा राख्न गर्मी याममा बढी हाई काढ्नुपर्ने बताएका छन् । यद्यपि सैद्धान्तिक रुपमा भने हाई काढ्दा बाहिरको चिसो शरीरभित्र जाने र मस्तिष्कसम्म पुग्ने प्रक्रिया हुन्छ, जसका कारण जाडो याममा बढी हाई आउने जानकारहरु बताउँछन् ।