newskoseli.Com

६३ जिल्लामा स्क्रब टाइफस : ३ को निधन, ५५४ बिरामी (परिचय, लक्षण र रोकथामका उपायसहित)

डेंगुको प्रकोपबाट देश आक्रान्त भइरहेका बेला फेरि डेंगुजस्तै लक्षण मिल्दोजुल्दो भएको स्क्रब टाइफसको समेत संक्रमण बढ्न थालेको छ । अहिले नेपालका ६३ जिल्लामा स्क्रब टाइफस फैलिसकेको बताइएको छ ।

कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल भर्ना भएका २० वर्षीय भरत खातीको बिहीबार मृत्यु भएको हो । यसअघि चितवनमा पनि स्क्रब टाइफसकै कारण एक जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म ६३ जिल्लामा स्क्रब टाइफसको समस्या देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोखरेलले बताए । सन् २०१९ सुरु भएयता मात्रै नेपालमा यो रोगबाट ५ सय ५४ जना बिरामी भएका छन् । महाशाखाका अनुसार सन् २०१९ मा मात्र नेपालमा स्क्रब टाइफसबाट ३ जनाको निधन भइसकेको छ ।

स्क्रब टाइफसको समस्या अन्य प्रदेशको तुलनामा यतिबेला भने प्रदेश– ३ मा धेरै देखिएको महाशाखाले जनाएको छ । यो रोगका बिरामीको संख्या सबैभन्दा धेरै धादिङमा १ सय ३० र चितवनमा ५६ रहेको महाशाखाले जनाएको छ । यस रोगको उपचारको लागि सरकारले निःशुल्क रुपमा किटको व्यवस्था गर्दै आइरहेको महाशाखाले जनाएको छ । नेपालमा १५–२० वर्ष पहिलेदेखि नै यो रोगको समस्या देखिए पनि सरकारसँग भने ७ वर्ष पहिलेदेखिको मात्रै रेकर्ड छ ।

यस्तो छ स्क्रब टाइफसको नालीबेली

सर्वप्रथम सन् १९३० मा जापानमा हासिमोतोले यो रोगको पहिचान गरेका थिए । यो एक प्रकारको ज्वरोजन्य रोग हो । जङ्गल, झाडी र खुला ठाउँका बीचको भूभागमा बढी प्रकोप हुने भएका कारण यो रोगको नाम स्क्रब टाइफस राखिएको बुझिन्छ । ओरियन्टिया सुसुगामुसीले संक्रमित कीर्ना र सुलसुले जातको सूक्ष्म कीरा (माइट) को टोकाइबाट यो रोग फैलन्छ ।

यो रोग उत्पन्न गर्ने माइट सामान्यतया मुसाको कानमा गएर बस्छ अनि पूरै रस चुसेपछि झर्छ । झाडीमा मुसाको रगत चुसेर जिउने माइट नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्छ । माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरेपछि व्यक्तिमा यो रोगको संक्रमण हुन्छ ।

सन् २०१८ मा २७ तथा सन् २०१६ मा ४८ जिल्लामा यो रोगको संक्रमण भेटिए नेपालमा कुनै पनि बेला यसले महामारीको रुप लिन सक्छ । साढे तीन वर्षयता यो रोगको संक्रमणले ३४ जनाको मृत्यु भएको तथ्याङ्क छ । तर, सरकारको तथ्याङ्कभन्दा धेरै बढी नागरिकमा यस रोगको समस्या देखिएको स्वास्थ्यविज्ञहरुको अनुमान छ ।

नेपालमा लामो समयदेखि स्क्रब टाइफसको समस्या देखिए पनि भूकम्पपछि धादिङमा बढी मात्रामा मुसा देखिन थालेसँगै नागरिकले यस रोगको बारेमा चासो राखेको देखिन्छ । चिकित्सकको भनाइअनुसार समयमा उपचार भए पूर्णातः निको हुने रोग हो यो । तर, उपचार गराउन ढिलो भएको खण्डमा यसबाट बिरामीको ज्यान समेत जान सक्छ ।

लक्षण, उपचार र रोकथामबारे जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे

मनसुन अर्थात् वर्षायाममा झाडी, भकारी, जंगल, घाँसपातमा मुसामा हुने कीर्नाको टोकाइबाट स्क्रब टाइफस सर्दछ । विशेष गरी मुसा र बिरालाको शरीरमा टाँसिएर रहने परजीवी कीर्ना, उपियाँ, उडुस र जुम्राबाट यो रोग मानिसमा सर्छ । घरपालुवा जनावर भएको घरका मानिसलाई एक साताभन्दा बढी लगातार ज्वरो आएमा उनीहरूमा टाइफाइड या स्क्रब टाइफस भएको अनुमान गर्न सकिन्छ ।

उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु, टोकेको भागमा कालो दाग बस्नु आदि स्क्रब टाइफसका लक्षण हुन् । समयमै यस रोगको उपचार नभएमा ज्वरो बढ्दै गएर अन्य समस्याहरु पनि देखा पर्न सक्छन् । जस्तै– मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै पछि श्वास–प्रश्वासमा समेत समस्या हुने र बिरामीको ज्यान समेत जान सक्ने डा. रवीन्द्र पाण्डेको भनाइ छ ।

डा. पाण्डेका अनुसार समयमै निदान गरेमा यस रोगको उपचार सस्तो छ । २–३ सय रुपैयाँको औषधि खाँदा नै यो रोग निको हुन्छ । यसका धेरैजसो लक्षण डेंगुुसँग मिल्ने भएकाले डेंगु परीक्षण गर्दा स्क्रब टाइफसको पनि परीक्षण गर्नु उपयुक्त हुने डा. पाण्डे बताउँछन् ।

जनस्वास्थ्य प्रयोगशाला टेकुमा ५ सय रुपैयाँमा यसको परीक्षण गरिन्छ । व्यक्तिगत सरसफाइसँगै घर वरपर सफा राख्ने तथा मुसा, कीर्ना, सुलसुलेलगायतका कीरा नियन्त्रण गर्ने र घरबाहिर काम गर्दा बुट तथा पञ्जा लगाउने आदि उपायबाट यसको रोकथाम गर्न सकिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर